नवकान्तिपुर संवाददाता
काठमाडौं, २१ साउन ।

नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल समूहले एकताको प्रयास जारी राख्ने बताएको छ । बानेश्वरको बुद्धनगर स्थित क्वालिटी ब्याङक्वेटमा बसेको माधव समूहको स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको हो ।
त्यस्तै बैठकले एकताको प्रमुख बाधक अध्यक्ष केपी शर्मा ओली रहेको भन्दै ओलीले आफ्नो अभिव्यक्ति र कार्यशैलीलाई सच्याउनुपर्ने माधव समूहको अडान छ । केन्द्रीय समिति बैठकअघि बसेको स्थायी समिति बैठकले एकताको प्रयास जारी राख्नको लागि केपी शर्मा ओली अध्यक्ष पदबाट हट्नुपर्ने नेपाल पक्षका नेताले बताएका छन् ।
यस्तै बैठक बारे जानकारी दिँदै नेपाल पक्षीय स्थायी समिति सदस्य भीम आचार्यले केपी ओली एकताको पक्षमा उभिनुपर्दछ र पार्टी एकता हुने कुरामा कुनै समस्या नहुने बताए । आचार्यले ओलीकै कारण १० बुँदे सहमति कार्यान्वयनमा ल्याउन समस्या निम्तिएको दावी गरे । त्यसैगरी आजको बैठकमा पार्टी एकताको लागि सबै नेताहरु तयार रहेको बताए ।
