नवकान्तिपुर संवाददाता
काठमाडौं, २१ साउन ।

नेकपा एमालेको माधव नेपाल समूहले निर्णय लिन नसक्दा मन्त्रिमण्डल विस्तारमा विलम्व भैरहेको छ । यस विषयलाई टुंगो लगाउन माधव नोपाल समूहको केन्दीय कमिटी बैठक आज बसिरहेको छ । पार्टी एकता र सरकारमा सहभागीताको विषय टुंगोमा पुर्याउने लक्षका साथ बोलाइएको बैठकपछि नेपाल समूह सरकारमा सहभागी हुने सम्भावना रहेको बताइन्छ । त्यसैले पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई नेता नेपालले शुक्रबारसम्म मन्त्रिपरिषद् विस्तार रोक्न आग्रह गरेका थिए ।
माधव नेपाल समूहमा सरकारमा सहभागी हुने विषयमा दुई धार देखिएको छ । प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका नेताहरुले सरकारमा सहभागी हुनुपर्ने मत राखिरहेका छन् भने विश्वासको मत नदिएका नेताहरुले सरकारमा सहभागी हुँदा पार्टी एकताको सम्भावना सकिएकोले तत्काल सरकारमा सहभागी हुन नहुने धारणा राखिरहेका छन् । यो विषय आजको केन्द्रीय कमिटीमा पनि छलफल हुने भएको छ । यद्दपि सरकारमा सहभागी हुनुपर्ने धारण राख्नेहरुको बहुमत रहेकोले केन्द्रीय कमिटीले पनि सरकारमा सहभागी हुने विषयलाई अनुमोदन गर्ने निश्चित भएको नेपाल पक्षका एक नेताले जानकारी दिए ।
नेपाल पक्षको आजको केन्द्रीय कमिटी बैठकले पार्टी अध्यक्ष केपी ओलीसमक्ष पेश गर्न लागिएका पार्टी एकताको प्रतिवेदन पनि अनुमोदन गर्ने तयारी छ । नेता नेपालले पार्टी एकता जोगाउन ओलीसँग केही शर्तहरु अगाडि सार्ने भएका छन् । उक्त सर्तहरुमा प्रतिनिधिसभा विघटन गर्ने निर्णय गलत भएको भन्दै माफी माग्नुपर्नेदेखि देउवा सरकारलाई राष्ट्रिय सहमतिको सरकारको मान्यता दिनुपर्ने विषय रहेका छन् । देउवाको सरकारलाई सहमतिको सरकार बनाउने शर्त समावेश हुनुले नेता नेपाल नै देउवा सरकारमा आफ्ना नेतालाई सघाउन चाहेको प्रष्ट हुने नेपाल समूहका नेताहरुको बुझाइ छ ।
आइतबार मन्त्रिमण्डललाई पूर्णता दिइने
प्रधानमन्त्री देउवाले आइतबार कसैगरी पनि मन्त्रिमण्डललाई पूर्णता दिने तयारीमा छन् । सत्ता कार्यादलले आज साझा कार्यक्रमको प्रतिवेदन बुझाउने तयारी गरेको छ । आजै गठबन्धनका शीर्ष नेताहरुले त्यसलाई सार्वजनिक गर्ने तयारी रहेको छ । आजै नेता नेपालले पनि सरकारमा सहभागी हुने विषय टुंग्याउने देउवाको विश्वास रहेको छ । उनले प्रचण्ड र उपेन्द्र यादवलाई पनि शनिबारसम्म मन्त्रीको नाम लिष्ट दिन आग्रह गरिसकेका छन् । कांग्रेसमा पनि मन्त्रीको टुंगो नलागेकोले शनिबारसम्म मन्त्री छानेर आइतबार मन्त्रिमण्डललाई पूर्णता दिने तयारीमा देउवा रहेका छन् ।
मन्त्रिमण्डलमा विलम्व हुँदा यसबीचमा सरकारले गरेका राम्रा काम पनि छायामा परेको र विपक्षीहरुले विरोध गर्ने अवसर पाएकोले प्रचण्ड र यादव पनि मन्त्रिमरिषद्लाई पूर्णता दिन ढिलाई गर्न नहुने निष्कर्षमा पुगेका छन् । त्यसैले पनि मन्त्री छान्न उनीहरु आन्तरिक गृहकार्यमा जुटेका छन् । मन्त्रीका आकांक्षीहरु धेरै र मन्त्रालयको संख्या कम रहेकोले मन्त्री छान्न दुबै पार्टीलाई अफ्ठ्यारो परेको छ । केही मन्त्रीका आकांक्षीहरुले सोझै देउवालाई भेटेर मन्त्री बनाउन दवाव दिन थालेपछि गगबन्धनका नेताहरुलाई नैतिक दवाव श्रृजना भएको छ । त्यसैले उनीहरुले निश्चित मापदण्ड बनाएर सबै पार्टीबाट सक्षम नेतालाई अवसर दिने योजना बनाएको बताइन्छ ।।
