नवकान्तिपुर संवाददाता
काठमाडौं, २१ साउन ।

एमाले एकता प्रक्रियाबारे छलफल गर्न बुद्धनगरस्थित एक पार्टी प्यालेसमा बिहीबार वरिष्ठ नेता माधव नेपाल पक्षको केन्द्रीय कमिटी बैठक बसेको थियो ।केन्द्रीय कमिटी बैठकमा वरिष्ठ नेता नेपालले सम्बोधन गर्दै सम्मानजनक एकताको सुनिश्चितता नभएसम्म अध्यक्ष केपी ओलीसँग नमिल्ने अडान राखे । यथास्थितिमा एकता हुनै नसक्ने उनको भनाइ थियो । त्यही बैठकमा एमाले एकताका लागि गठित कार्यदलको संयोजक बनेका भीम रावलले पनि विघटित कार्यदलको सक्रियता र अध्यक्ष ओलीसँग भइरहेका संवादको प्रगतिबारे बैठकमा ब्रिफिङ गरे ।
‘केही दिनअघि अध्यक्ष ओलीले माधव नेपालले दोस्रो अध्यक्ष नमान्ने हो भने एकताको च्याप्टर क्लोज भएको कुरा सुनाउनुभएको थियो । त्यसपछि फेरि कार्यदलका सदस्यहरूलाई बोलाएर एकताको पहल दुवै पक्षबाट जारी राखौँ भन्ने प्रस्ताव गर्नुभयो,’ रावलले बैठकमा ब्रिफिङ गरे ।
रावलको कुरा सुनेपछि वरिष्ठ नेता नेपालले कार्यदलको वैधानिकता समाप्त भइसके पनि त्यसका सदस्यहरूले गरेको एकता प्रयासबाट केही नतिजा निस्किन सक्ने आशा व्यक्त गरे । ‘कार्यदलको अहिले कुनै पनि वैधानिकता छैन । त्यसले एकता प्रक्रियामा बल पुर्याउने गरी काम गरिरहेको हो भने यसको प्रयत्नको प्रतिफलबारे हेरौँ । केही दिन कुरौँ, कसरी जाँदोरहेछ त्यो पनि हेरौँ,’ बैठकमा माधव नेपालले भने ।
एकताको इमानदार प्रयत्न ओली पक्षबाट अझै नभए पनि कार्यदलका सदस्यहरू लागिरहेकाले केही दिन कुरौँ भन्ने प्रस्ताव नेता नेपालले अघि सारे ।कार्यदलका संयोजक भीम रावलले ब्रिफिङका क्रममा रेडियो, टेलिभिजन, सामाजिक सञ्जाललगायतमा एकताविरोधी टिप्पणी भइरहेको भन्दै त्यसलाई रोक्नुपर्ने प्रस्ताव अघि सारे । नेताहरूले जथाभावी बोल्दा वातावरण बिथोलिएको उनको भनाइ थियो ।
त्यसपछि केन्द्रीय कमिटीका सदस्य जगन्नाथ खतिवडाले रावलको नाम नै लिएर यताबाट वार्ता गर्न जाने र अध्यक्ष ओलीकहाँ पुगेर ‘लुज टक’ गर्ने भन्दै रावलमाथि प्रश्न उठाए । ‘कार्यदलमा रहेका नेताहरूले अध्यक्ष ओलीकहाँ पुगेर ओलीलाई खुसी पार्ने कुरा गरिरहनुभएको छ । त्यो काम बन्द हुनुपर्यो । हाम्रै समूह एकताबद्ध छैनौँ भने पार्टी एकता कसरी हुन सक्छ ? यस्ता व्यवहार बन्द हुनुपर्छ,’ खतिवडाले भने ।
त्यसपछि केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले कसैको नाम नलिईकन स्थायी कमिटी सदस्यहरूले गरेका सबै प्रयत्न अन्तिम नहुने बताइन् । ‘स्थायी कमिटीका नेताहरूले कहाँ गएर के-के छलफल गर्नुहुन्छ, त्यसकै आधारमा भएका सबै निर्णय मान्य हुँदैनन् । समूहभित्र पनि लोकतान्त्रिक प्रक्रिया अवलम्बन हुनुपर्छ । नत्र निर्णय स्वीकार्य हुँदैनन्,’ बैठकमा उनले भनिन् ।
त्यसपछि रावल भड्किए, ‘पार्टी एकताको पहल गरिरहेको व्यक्तिमाथि लाञ्छना लगाउन पाइँदैन । पार्टीको बैठकमा लाञ्छना लगाउने कुरा स्वीकार्य हुँदैन ।’ बैठकमा रावल कड्किएपछि त्यसको प्रतिवादका लागि केन्द्रीय सदस्यहरू उठेका थिए । आक्रोशित माहौललाई शान्त पार्न नेता घनश्याम भुसाल खटिए । उनले माहौललाई शान्त पारेसँगै बैठक बिहीबारका लागि स्थगित भयो ।
