विद्युत् प्राधिकरणमा कुलमान आउने निश्चित, मन्त्रिपरिषदमा प्रस्ताव पेस

लामो समयदेखिको लोडसेडिङ अन्त्य गरेर आम नागरिकको वाहवाही पाएका कुलमान घिसिङलाई पुनः नेपाल विद्युत् प्राधिकरणमा भित्र्याउन सरकारले प्रक्रिया अघि बढाएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सोमबार मन्त्रिपरिषद् बैठकमा घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक बनाउने प्रस्ताव प्रस्तुत गरेकी हुन्।

प्राधिकरणका वर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई मन्त्रालयमा सरुवा गरी घिसिङलाई कार्यकारी निर्देशक बनाउने प्रस्ताव मन्त्रिपरिषद् लगिएको हो। स्रोतको दाबीअनुसार कानुनी अड्चनका कारण शाक्यलाई जल तथा ऊर्जा आयोगमा विशिष्ट श्रेणीको सुविधासहित सरुवा गर्ने र घिसिङलाई प्राधिकरणमा नियुक्ति गर्ने प्रस्ताव अगाडि बढाइएको छ । अर्थ मन्त्रालयले स्वीकृति दिएपछि निर्णय हुने स्रोतको भनाइ छ।



यसअघि गत साता ऊर्जामन्त्री भुसालले प्राधिकरणका कार्यकारी निर्देशक शाक्यलाई प्रधानमन्त्री शेरबहादुर देउवाकै अगाडि घिसिङको नियुक्तिका लागि राजीनामा दिएर मार्गप्रशस्त गरिदिन आग्रह गरेकी थिइन्।

यसअघिका कार्यकारी निर्देश कुलमान घिसिङ चारवर्षे कार्यकाल पूरा गरी गत वर्ष भदौ ३१ मा प्राधिकरणबाट बिदा भएका थिए। तत्कालीन सरकारबाट २०७३ भदौ २९ मा निर्देशक नियुक्ति घिसिङले वर्षौंदेखिको लोडसेडिङ समस्या अन्त्य गरी घाटामा रहेको प्राधिकरणलाई नाफा गर्न सक्ने हैसियतमा उकालेका थिए।

सम्बन्धित समाचार