नवकान्तिपुर संवाददाता
काठमाडौं, २७ साउन ।

नेपाल विद्युत् प्राधिकरणको नवनियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङले पदभार ग्रहण गरेका छन् । आज (बुधबार) केन्द्रीय कार्यलय पुगेर पदभार ग्रहण गरेका हुन् ।
गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कुलमानलाई कार्यकारी निर्देशकमा नियुक्ति गर्ने निर्णय गरेको थियो । त्यस्तै मन्त्रिपरिषद् बैठकले प्राधिकरणका कार्यकारी निर्देशक रहेका हितेन्द्रदेव शाक्यलाई जल तथा ऊर्जा आयोगमा कार्यादेशसहित विशिष्ठ श्रेणीको पूर्णकालीन सदस्यका रुपमा ४ वर्षका लागि नियुक्त गरिएको छ ।
घिसिङलाई ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले चार वर्षे कार्यकालको लागि नियुक्तिपत्र दिएकी हुन् । पदभार ग्रहण पछि निर्देशक घिसिङले भने, ‘मैले ठूलो चुनौती स्वीकार गरेको छु । यो मेरो जीवनकै सबभन्दा ठूलो चुनौती जस्तो लाग्छ ।’ उनलाई प्राधिकरणका कर्मचारीहरुले स्वागत गरेका थिए ।
यसअघि ४ वर्षे कार्यकाल पूरा गरी बिदा भएका घिसिङलाई देउवा सरकारले पुनः विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदमा नियुक्ति दिएको हो ।
