नवकान्तिपुर संवाददाता
काठमाडौं, २९ साउन ।

संघीय राजधानी काठमाडौंबाट ७५ किलोमिटर दुरीमा रहेको थाहा नगरपालिका कृषि व्यवसायको लागि अब्बल मानिन्छ । पचासहजारको हाराहारी जनसङ्ख्या भएको यो नगरपालिकाका टिस्टुङ, पालुङ र दामनजस्ता ठाउँहरू आलुखेतीका लागि प्रख्यात मानिन्छन् । एक प्रकारले थाहा नगरपालिका तरकारीजन्य उत्पादनको हब नै मानिन्छ । वार्षिक सालाखाला पाँच अर्बभन्दा बढीको तरकारी व्यापार गर्ने यस नगरपालिकाले आफ्ना उत्पादनहरू भारतलगायत अन्य मुलुकहरूमा पनि निर्यात गर्ने गर्दछ ।
जनताका समस्या सम्बोधन गर्नमा नगरपालिका प्रमुख लवशेर विष्टको सक्रियता पनि उल्लेखनीय देखिन्छ । उनी नगर प्रमुख मात्र नभएर नगरबासीका लागि मोटिवेटर पनि रहेछन् । राम्रो कामका लागि उनको प्रेरणादायी उपस्थितिले नगरबासीमा केही गरेर देखाउने उत्साह बढाउँदो रहेछ ।
भेटघाटका क्रममा नगरप्रमुख विष्ट भन्छन्– ‘जनताका जनजीविकासँग प्रत्यक्ष जोडिएका कार्यलाई मैले प्राथमिकतामा राखेको छु । कृषकलाई प्रत्यक्ष लाभ हुने कृषि व्यवसाय, तरकारी खेती, कुखुरा पालन र आत्मनिर्भर बनाउने प्रकृतिका विभिन्न तालिमहरू, विकास निर्माणका पूर्वाधारहरूआदिलाई प्राथमिकतामा राखेर जनताको घर दैलोमा पुग्ने गरी योजनाहरू बनाइरहेका छौं । नगरपालिकाभित्र रहेका पुरातात्विक महत्वका र पर्यटकीय रूपमा आकर्षण गन्तव्यहरूको पहिचान गरी त्यस्ता ठाउँहरूलाई पुनःनिर्माण वा मर्मत पनि गर्दैछौं । आर्थिक पारदर्शितालाई आत्मसात् गरेका छौं ।’
नगर प्रमुख विष्ट आफ्नो कार्यकाल सकिन लागेकाप्रति पनि चनाखो छन् र चुनावताका जनतालाई बाँडेका सपनाहरूप्रति पनि गम्भीर देखिन्छन् । उनी लगभग तीन वर्षको अवधिमा थुप्रै कामहरू गर्न सकेको र केही गरिरहेको जानकारी गराउँछन् । थाहा नगरपालिकाका सबै वडाहरूमा जनताका दैनिकीसँग जोडिएका कामहरूलाई प्राथमिकतामा राखेको, प्रत्येक तीन घुरीलाई एकका हिसाबले खानेपानीको धारा पुर्याइएको, झोलुङ्गे पुल निर्माण, तरकारी सङ्कलन तथा बिक्री केन्द्र, दूध सङ्कलन र चिस्यान केन्द्रको निर्माण गरिएको, मनोरञ्जन पार्कहरूको आदि निर्माणसम्पन्न भइसकेको र किसानहरूलाई बीउबिजन, रासायनिक मल, कीटनाशक औषधि आदि समयमा नै उपलब्ध गराउने विषयमा सचेत भएर लागिपरेको बताउँछन् ।
नगर प्रमुख विष्ट थप्छन्– यस बीचमा ठूला लगानीका योजनाहरू पनि बने र कति निर्माणसम्पन्न हुने अवस्थामा छन् । मोटरबाटो निर्माण, सिंचाईका लागि नहर निर्माण, टावर निर्माण, देवालय तथा मन्दिरहरू निर्माण तथा जिर्णेद्धार, विद्युतीकरण आदि जनताले प्रत्यक्ष अनुभूति गर्न गर्न सक्ने कामहरू पनि गरिएका छन् ।
