

२०६१ साल भदौ महिनाको ३१ गते बिहीबार भारतको नयाँ दिल्लीबाट करिब १७० यात्रुहरू बोकेर उडेको अफगानी राष्ट्रिय विमान एरियाना एयर (बोइङ ७२७) अफ्गानिस्तानको राजधानी काबुलमा अवतरण हुनै लाग्दा काबुल शहरको करिब चार फन्को मारेर पुनः आकाशतिरै फर्कियो । केहीबेरपछि चालक दलका एकजना सदस्यले जानकारी गराए ‘काबुल अन्तर्राष्ट्रिय विमानस्थलमा भएको एउटा विमान दुर्घटनाको कारणले धावनमार्ग अवरूद्ध भएको हुँदा केही समयको लागि हामी मजार–ई–शरीफ विमानस्थलतर्फ प्रस्थान गर्दैछौं । यसबाट यात्रुवर्गमा पर्न जाने असुविधाप्रति क्षमाप्रार्थी छौं ।’ नयाँ दिल्लीबाटै नियमित समयभन्दा दुई घण्टा ढिलोगरी उडेको विमान गन्तव्यमा कहिले पुग्ला र आनन्दको सास फेर्न पाइएला भन्ने सोचिरहेको बेला अन्तिम समयमा आएर विमानले अवतरण हुन नसकी गन्तव्य परिवर्तन गर्नुपरेपछि मनमा एउटा नमिठो भय उत्पन्न भयो । तैपनि ६ महिने अफ्गानिस्तान बसाईको क्रममा सुरक्षाको कारणले आफू कार्यरत क्याम्पभन्दा बाहिर कतै पनि जाने अवसर नमिलिरहेको बेला यात्राको सिलसिलामैं किन नहोस्, अफगानिस्तानकै अर्को ठूलो शहर मजार–ई–शरीफ पुग्न पाइने भयो भनेर एक किसिमको खुशी पनि पैदा भयो ।
उडिरहेको विमानको झ्यालबाटै हेर्दा पनि डरलाग्ने ढुङ्गाका अग्ला अग्ला पहाडहरूलाई पछि पार्दै विमान उत्तरी आकाशतर्फ बढिरह्यो । अफ्गानी आकाशमा तेस्रो पटक चक्कर लगाउँदै गर्दा फाट्टफुट्ट देखिने स–साना थुम्काबाहेक बादलको बाक्लो झुण्ड अथवा कुहिरो कहिले पनि देखिएको थिएन । त्योे दिन पनि आकाश निकै खुल्ला थियो । खुल्ला आकाशको बीचमा विमानको झ्यालबाट देखिएका अग्ला मरूभूमि पहाडहरू हेर्दै विमानको गतिसँगै उडिरह्यौं । नेपाली आकाशमा उडिरहँदा विमानबाट देखिने हिमाल, पहाड, खोलानाला र वनजंगलको स्वर्गीय दृश्य अनि अफ्गानी आकाशमा उडिरहँदा देखिने फुङ्ग धुलो उड्ने मरूभूमिजस्ता पहाडको तुलना गर्दै आफ्नो देश नेपाललाई सम्झिएर भित्री मनैदेखि नतमस्तक भएँ । नेपाललाई त्यतिकै स्वर्गको टुक्रा भनिएको होइन रहेछ भन्ने कुराको महसुस भयो । संसारको जुनसुकै कुनामा पुगे पनि आफ्नो देशको मायाले आँसु नझार्ने नेपालीहरू कमै होलान् । विमानको झ्यालबाट बाहिरको दृश्य नियाल्दै गर्दा नेपालबाट फर्किदा ल्याएको एउटा पुस्तकको पन्नाहरूमा पनि बेला बेला यसो आँखा डुलाउदै थिएँ, यात्राको क्रममा संगीत सुन्न पाउनुको मज्जा त बेग्लै हुने गर्दछ । तर त्यो बेला ‘डिजिटल’ उपकरणहरूको उपलब्धता अहिले जस्तो सहज थिएन । त्यसैले यात्राको क्रममा मेरो साथमा कुनै पुस्तक हुने गर्दथ्यो ।
‘कृपया ध्यान दिनुहोला, अबको केही समयमा हामी मजार विमानस्थलमा अवतरण गर्दैछौं’ भनेर चालक दलका उनै सदस्यले जानकारी दिइसक्दा नसक्दै विमानले खुल्ला आकाशबाट मोडिएर लम्बेतान सुतिरहेका दुईवटा अग्ला पहाडी श्रृङ्खलाहरूको बीचबाट आफ्नो उडान अगाडि बढाइसकेको थियो । निकै कम उचाइमा पहाडहरूको बीचबाट उड्दै गर्दाको अनुभव र रोमाञ्चकताले मन प्रफुल्लित भैरहेको थियो । तर अर्कोतर्फ भने कुनै सानो असावधानीबस् विमानको पखेटाले पहाडको टुप्पो छोइहाल्यो भने के होर्ला ? भन्ने पनि लाग्यो । जेहोस्, राजधानी काबुलबाट ‘डिपोर्ट’ भएर करिब ४० मिनेटको उडान तय गरिसकेपछि पश्चिमतर्फको पहाडलाई पर कतै छोड्दै र पूर्वतर्फको पहाडसँगको दुरीलाई पनि क्रमशः लम्ब्याउँदै दिनको करिब २ः३० बजेतिर राजधानी काबुलदेखि ४०० किमी पूर्व उत्तरतर्फ रहेको मजार–ई–शरीफ विमानस्थलमा विमानले आफ्नो पाइला टेक्यो । यो शहर अफ्गानीस्तानको द्वन्द्वग्रस्त शहरमध्येको एक थियो ।
विमान अवतरण गर्ने बित्तिकै चालक दलले विमानको इञ्जिन बन्द गरे । आधा घण्टासम्म सबै यात्रुहरू चुपचाप बसिरह्यौँ । विमानभित्र क्रमशः खपिनसक्नुको गर्मी बढ्न थालेको थियो । सबैको अनुहारबाट खल्खली पसिना बगिरहेको थियो । यात्रुहरू रूमाल, पुस्तक, पत्रिका वा त्यस्तै जे छ, त्यसैले अनुहार हम्किरहेका थिए । केहीबेरपछि विमानको ढोका खुल्यो । त्यसपछि फाट्टफुट्ट गर्दै सबै यात्रुहरू आ–आफ्ना हातेझोलालगायतका सरसामान त्यतिकै छोडेर विमानबाट तल ओर्लिन थाले । विमानमा यात्रा गर्नेहरूमा अधिकांश रोजगारीको सिलसिलामा त्यहाँ पुगेका विदेशी नागरिकहरू थिए, जसमा महिला र केटाकेटीहरूको संख्या अत्यन्तै न्यून थियो । दिन ढल्किँदै जाँदा समयमै गन्तव्यमा पुग्न सकिएला कि नसकिएला भन्ने अनिश्चितताले जन्माएको पीडाले सबैजना आक्रान्त थियौं । सबैको मानसिकता तनावग्रस्त थियोे । कति समयसम्म यसरी अड्किएर बस्नु पर्ने हो ? जवाफ कसैसँग पनि थिएन । अन्यौलता र जिज्ञासाहरूको माझ यात्रुहरू विमानको वरिपरि झुण्ड झुण्ड भएर कुराकानी गर्दै समय बिताउन थाले ।
काठमाडौंबाट सँगै यात्रा गरिरहेको साथी सन्तोष र म पनि विमानभन्दा केही पर छेऊ लागेर उभियौँ । विमानस्थलमा निकै चर्को घाम लागिरहेको थियो । तापक्रम शायद ४५ डिग्री सेल्सियसभन्दा माथि हुनुपर्छ । हावा पनि तातै चलिरहेको थियो । त्यहाँबाट घुमफिरको लागि आफुखुशी तत्काल बाहिर निस्कने कुरा पनि सम्भव थिएन । सन्तोष र म जहाँ थियाैं, त्यस ठाउँको छेउमा भेला भएका मानिसहरूले नेपाली भाषामा कुरा गरेजस्तो लाग्यो । हामी पनि त्यस समूहमा गएर मिसियौँ ।
उनीहरूमध्ये केही विभिन्न कम्पनीहरूमा सुरक्षा गार्डको रूपमा काम गर्ने नेपालीहरू रहेछन् । त्यसमा पनि केही हप्ता पहिलेमात्र काबुलस्थित एउटा अमेरिकी सुरक्षा कम्पनीको गेटअगाडि तालिवानहरूद्वारा गराइएको कार बम बिस्फोटमा परी ज्यान गुमाएका नेपाली सुरक्षाकर्मीको शव नेपालमा परिवारलाई जिम्मा लगाएर फर्कंदै गरेकाहरू पनि रहेछन् । २९ अगस्ट २००४ आइतबारको दिन बलुका ५ः४५ बजे भएको उक्त आतंककारी घटनामा मृत्यु हुने दशमध्ये तीन जना नेपाली भएको दुःखद् कुरा मैले छुट्टीमा रहँदा नेपालमंै सुनेको थिएँ । आङ नै सिरिंग पार्ने त्यो घटनाको वास्तविक विवरणचाहिँ साक्षीहरूबाटै मजार विमानस्थलमा यसरी प्रत्यक्ष रूपमा सुनिसकेपछि म निकै बेर भावुक बन्न पुगेँ । युद्धले धुजाधुजा पारेको देशमा साथीहरूको मुखबाट सुनिने र यदाकदा समाचारमा आउने बाहेक ज्यानको जोखिमै मोलेर अत्याधुनिक हतियारसहित सुरक्षाको काम गर्ने नेपालीहरूसँग प्रत्यक्ष भेटघाट र कुराकानी हुने अवसर मिलेको थिएन । पूर्व गोर्खा तथा नेपाली सेना प्रहरीहरू अफ्गानिस्तानभरि छरिएर विभिन्न सेक्युरिटी कम्पनीहरूमा काम गरिरहेको कुरा जानकारी पाएँ । गफगाफकै क्रममा कामको खोजीमा दलालहरूमार्फत मोटो रकम तिरेर अफ्गानिस्तान छिरेका तर काम नपाएर बेरोजगार र बेखर्ची बसिरहेका नेपालीहरूको संख्या पनि अनगिन्ती रहेको थाहा भयो । यस्ता नेपालीहरूको संख्या दिन प्रतिदिन बढ्दै गरेको भन्ने सुनेपछि चाहिँ मलाई निकै नरमाइलो महसुस भयो ।
यात्रुहरू विमानको वरिपरि झुण्ड झुण्ड भएरै कुरा गरिरहेका थिए÷थियौं । काबुलतर्फ फिर्ती उडान हुने या नहुने भन्ने बारे नयाँ कुनै सूचना आइसकेको थिएन । यात्राको अनिश्चितताले जन्माएको चिन्ता त छँदैथियो, त्यसमा पनि युद्धग्रस्त क्षेत्रमा रातभरि अलपत्र परेर बस्नुपर्ला कि भनेर सुरक्षाको चिन्ता पनि सताइरहेको थियो । मानिसहरूको कुरा गराइमा समेत आक्रोश छचल्किन्थ्यो । हामीहरू त्यहींबाट विमानस्थल वरिपरि देखिएका दृश्यहरू पनि नियालिरहेका थियौं । बेलाबेलामा रेडक्रस, संयुक्त राष्ट्र संघ तथा नेटो सेनाका सानाठूला विमानहरू उडान र अवतरण गरिरहेका देखिन्थे ।
ठीक त्यसै बेला अमेरिकी सेनाको एउटा निकै ठूलो मालबाहक विमान अवतरण गर्यो र छेऊमै आएर रोकियो । केही बेरमै उक्त विमानभित्रबाट अमेरिकी सेनाका नयाँ नयाँ गाडीहरू फुत्त फुत्त बाहिर निस्कन थाले । हजारौंको संख्यामा रहेका विदेशी सेनाहरूले आफुलाई चाहिने बन्दोबस्ती र अन्य सामग्रीहरू अमेरिका र युरोपेली देशहरूबाट अफ्गानिस्तानसम्म कसरी ल्याइपुर्याउँछन् होला भनेर सधूं जिज्ञासु रहने मेरो कौताहलता त्यो दृश्य देखेपछि केही मात्रामा मेटिएजस्तो भयो तर जारी द्वन्दको कारणले त्यो देशको भविष्यलाई कहाँ पुर्याउने होला भन्ने कुराचाहिँ दिमागमा फनफनी घुमिरह्यो ।
उत्तर दक्षिण फैलिएर बसेको विमानस्थलको पूर्वपट्टि अलिपर एउटा पहाड त्यसैगरी लमतन्न सुतिरहेको थियो । दक्षिणतिरबाट निकै बाक्लो धुलो उडाउँदै बाह्र पन्ध्र वटाजति सैनिक तथा गैह्रसैनिक गाडीहरूको एउटा लस्कर उत्तरतिर आउदै गरेको देखियो । सायद विमानस्थललाई सुरक्षा प्रदान गर्ने सिलसिललामा वरिपरि रहेको पहाड र बस्तिहरूमा गस्ती गरिरहेका नेटो आबद्ध सेना तथा तिनीहरूलाई स्कर्टिङ गरिरहेका अन्य गाडीहरू थिए होलान् । विमानस्थलको मध्य भागतिर आइपुगेपछि ती गाडीहरू धुलो उडाउँदै पहाडतर्फ लागे । बेलुकीको समयमा घाम डुब्दै जाँदाँ वरिपरिको दृश्य रोमाञ्चक देखिन्थ्योे । गर्मी पनि उस्तै थियो अनि भोक र तिर्खाले पनि व्याकुल बनाइरहेको थियो । कुराकानी चलिरहेकै थियो । समय त्यस्तै बेलुकाको पाँच जति बजेको हुनुपर्छ, छेउमा लस्करै चारवटा पर्यटक बसहरू आएर रोकिए । पहिला त त्यसको वास्तै भएन तर जब ती बसहरू मजार शहरको कुनै होटलबाट हामीलाई लिन आएको भन्ने थाहा भयो, त्यसपछि मात्र सोही दिन काबुल फर्किने हाम्रो सम्भावना सम्पूर्ण रूपले स्थगित भैसकेछ भन्ने बोध भयो । र, हाम्रो उक्त दिनको यात्राले नयाँ मोड लिन पुग्यो ।
काबुल विमानस्थलदेखि ‘क्याम्प जुलियन’ सम्म पुग्न र फर्किन बख्तरबन्द सैनिक गाडीको प्रयोग हुन्थ्यो । जाडोमा अत्याधिक जाडो र गर्मीमा अत्याधिक गर्मी हुने ठाउँमा करिब एक घण्टा यात्रागर्न प्रयोग हुने सैनिक गाडीहरू वातानुकूलित थिएनन् । त्यसमाथि झ्यालहरू पनि नहुँदा बाहिरको संसारसमेत हेर्न पाइँदैनथ्यो । तापनि यात्रामा हुने सुरक्षा सम्वेदनशीलतालाई ध्यान दिँदै गन्तव्यसम्म नपुगुन्जेल प्रत्येक गाडीमा निकै कडा सैनिक पहरा हुने गर्दथ्यो । राजधानी काबुल जस्तो ठाउँको यात्रामा समेत त्यस्तो अनुभव बटुलिसकेकोले होला, त्योे दिन यात्रुहरूलाई सुरक्षित रूपमा होटेलसम्म पुर्याउन त्यहाँस्थित नेटो सेनाले स्कर्टिङ गर्दै लैजाने हो कि भन्ने लागेर यताउता आँखा डुलाई हेरें तर त्यस्तो केही पनि देखिएन । छोटो समयको लागि नै भए पनि अफ्गानिस्तानको सडकमा पहिलोपल्ट खुल्ला रूपमा यात्रा हुने भयो भन्ने प्रफुल्लताका माझ पनि आफूले यसअघि कहिल्यै नभोगेको, नितान्त फरक, कुनै सुरक्षा व्यवस्था बिनै सडकबाट यात्रा हुनलागेको कुराले मनमा अर्को भय थपिदियो ।
अकस्मात बदलिएको परिस्थितिबीच ठूलो जोखिमलाई शिरमा राखेर एउटा द्वन्दग्रस्त मुलुक जहाँ राजमार्गमा बिछ्याइएको विधुतीय धराप, भिडभाडमा हुने आत्मघाती आक्रमण, कारबम बिस्फोट अनि स्थानीय विद्रोही र विदेशी सेनाहरूका बीच हुने दोहोरो भिडन्त जस्ता कयौं घटनाहरू हरेक दिन सुनिने त्यस देशको कुनै एउटा विमानस्थलबाट रात छिप्पिन लाग्दै गर्दा बिना कुनै सुरक्षा निकै ठूलो संख्यामा विदेशी नागरिकहरू सडक यात्राको लागि बाहिरिए । झमक्क साँझ परिसकेपछि सुरू भएको त्यो यात्रा कहाँ पुगेर कति बेला टुंगिने हो थाहा थिएन । बस सडकमा गुडिरहँदा झ्याल बाहिर देखिएका दृश्यहरू हेर्दै गएँ । बाटोभरि सग्ला घरहरू कतै थिएनन् । जे थिए, युद्धले ध्वस्त भएको संरचना मात्र देखिन्थे । खण्डहर घरका भित्ता र अन्यत्र ठडिएका पर्खालहरूमा गोली लागेर बनेका प्वालै प्वाल देखिन्थ्यो । कहिल्यै त्यस किसिमको द्वन्द्व नभोगेको नेपाल र नेपालीका लागि त्यस्तोे दृश्यले मात्र पनि त्रासदीलाग्दो अनुभूति दिलाउँथ्योे ।
यस्तै भित्ताहरूको आडमा बाँस फलाम आदिको टेको लगाएर प्लास्टिक, जुटको बोरा, डढेका टिनपाता अथवा बाक्लो कागजले बेरेर बनाइएका टहरा र छाप्राहरूभित्र मान्छेहरू बसेका र बाटोको छेउछाउमा केटाकेटीहरू उफ्रिरहेका देखिन्थे । कतै कतै १२–१५ वर्षको उमेरका जस्ता लाग्ने केटाहरू मोजा, झुम्रा वा त्यसै घरेलु सामग्रीले बनाएका भकुण्डो खेल्न व्यस्त भएझैं देखिन्थे । ससाना चोक जस्तो लाग्ने ठाउँका किराना पसलहरूमा मान्छेको घुइचो लागेको थियो । बयस्क लोग्ने मान्छेहरूको अनुहार दाह्रीले ढपक्क ढाकेको र टाउको कपडाको फेटाले बेरेको देखिन्थ्यो । महिला र केटीहरू बुर्काभित्र ढाकिएका थिए । लोग्ने मान्छेहरूको दाह्री र फेटा देख्दा यस्तो लाग्थ्यो कि तिनीहरू सबै चर्चित बंगाली लेखक रवीन्द्रनाथ टैगोरको कथा ‘काबुलिवाला’का नायकहरू हुन् जो आफ्नो दिउँसोको व्यापार, खेतीपाती र त्यस्तै दैनिकी सिध्याएर घर फर्कन हतारिदै छन् । बाटोमा गधा र ऊँटले तान्दै गरेका गाडामा मान्छेहरू तथा सर–सामानहरू यत्रतत्र ओसारपसार भैरहेका देखिन्थे । त्यस्ता गाडाहरूमा पछाडि बस्नेहरू प्रायः महिला नै भए जस्तो लाग्थ्यो जो सम्पूर्ण रूपले बुर्काभित्र ढाकिएको अवस्थामा देखिन्थे ।
सडकको छेउ छेउमा सामान्य रूपले अफ्गानिस्तानमा पाइने प्रचलित फल तर्बुजाका थुप्राहरू देखिन्थ्यो जुन सायद बिक्रीको लागि राखिएको हुनुपर्छ । सडकहरू निकै चौडा बनाइएका थिए । अन्य शहरमा जस्तै सार्वजनिक बस, मालबाहक ट्रक, निजी गाडी, मोटरसाइकल र साइकलहरू प्रसस्तै गुडिरहेका देखिन्थे । साँझ झमक्क परिसकेपछि ठूल्ठूला बसहरूमा खचाखच भरिएर विदेशी नागरिकहरू आउँदै गरेको देखेर होला, बाटो वरिपरि उभिएर कतिपय मानिसहरू गुडिरहेका हाम्रो बसहरूतिरै नियालिरहेका देखिन्थे । विमानस्थलदेखि ९ किमी पश्चिममा रहेको मजार शहरसम्मको करिब ३० मिनेटको त्यो छोटो यात्रामा मैले दशकौंसम्मको युद्धले अफगानिस्तानलाई कसरी तहस नहस परेको रहेछ र मान्छेको अवस्था कतिसम्म दयनीय भएको रहेछ भन्ने कुराको महसुस गर्न पाएँ ।
मलाई अफ्गानिस्तानको वास्तविक मुहार प्रत्यक्ष देख्न पाएजस्तो लाग्यो । विमान अवतरण गर्ने बेला झ्यालबाट देखिएको काबुल शहर र बसको यात्रामा नजिकबाट देखिएको मजार शहर हेरेपछिको प्रभाव पार्ने कुराचाहिँ के थियो भने जता गए पनि देखिने सडकहरूको फराकिलो चौडाइ र छेउछाउका जग्गाहरूलाई आवास वा औद्योगिक प्रयोजनको लागि यसरीे प्लानिंग गरिएको थियो कि त्यो हेरेपछि भविष्यमा एउटा सुन्दर अफगानिस्तान बनाउने योजनाको पूर्व सङ्केत यही हो जस्तो लाग्दथ्यो ।
बसको ताँती अगाडि बढिरह्यो । साँझको समयमा शहरमा मानिस तथा गाडीहरूको घुइँचो निकै बाक्लो थियो । तर विमानस्थलबाट निस्केर मध्य शहरसम्म आइपुग्दा पनि यात्रा अवधिभरि नै एम्बुस, आत्मघाती आक्रमण वा अपहरण आदिमा पो परिने हो कि भन्ने असुरक्षाको चिन्ता मनबाट भाग्न सकेन । युद्धग्रस्त स्थानमा बिना कुनै सुरक्षा सयौं विदेशी नागरिकहरू यात्रा गर्नु त्यो पनि साँझको बेला, कति चुनौतीपूर्ण थियो होला ? त्यसको लेखाजोखा सायदै कसैले गर्ला तर समय आएपछि मानिसले जस्तोसुकै परिस्थितिको पनि सामना गर्नुपर्ने रहेछ भन्ने महसुस भयो ।
शहरको मध्य भागमा रहेको मुख्य सडकबाट अघि बढ्दै गर्दा बसको ताँती एउटा मोडमा पुग्यो, जहाँ ट्राफिक जामको कारणले बसहरू केहीबेर रोकिनु पर्यो । ठीक त्यसैबेला मेरो आँखा बाटोको उत्तरतिर रहेको एउटा निकै भव्य र सुन्दर मस्जिदमा पर्न गयो । मजार–ई–शरीफको शानको रूप रहेको हजरात अलीको समाधिस्थल । उक्त मस्जिद इस्लाम समुदायमा नीलो मस्जिदको नामले समेत प्रख्यात रहेछ । बहुमूल्य प्राकृतिक पत्थरहरूले बनेको मस्जिद वास्तवमै निकै भव्य अनि मनमोहक थियो । करिब सय वर्ष पहिले निर्माण सुरू भएको मस्जिदको वर्तमान स्वरूप र सुन्दरताले अहिलेसम्म सबैलाई मोहित पारिरहेकोे रहेछ । मस्जिदको वरिपरि रहेको बगैंचामा असंख्य सेता परेवाहरू थिए । विश्वास के गरिँदोरहेछ भने, सेता परेवाहरूको वासस्थान हुनु त्यस स्थानको पवित्रताको सङ्केत हो । अचम्मको कुराचाहिँ के लाग्यो भने त्यहाँ आउने जुनसुकै रङ्गका परेवाहरू पनि चालिस दिनपछि आफैं सेतो रंगमा परिवर्तन हुने गर्दछन् रे ! यात्रा अघि बढ्दैजाँदा आँखाबाट ओझेल नहुन्जेल मैले उक्त चित्ताकर्षक मस्जिदलाई हेरिरहें ।
साँझ छिप्पिएर रात परिसकेको थियो । बसहरू एउटा ठूलो भवनको अगाडि पुगेर रोकिए । बाहिरबाट कसैले इसारा गर्यो र होटल आइपुगेको जानकारी गरायो । सुरक्षित रूपले गन्तव्यसम्म पुगेछौं भन्ने कुराले बल्ल मन ढुक्क भयो । यात्रुहरू बाहिर निस्कन थाले । मैले होटलको पाँच तल्ले भवनको माथितिर आँखा डुलाएँ, एउटा साइनबोर्डमा लेखिएको थियो– होटल फराथ । शहर प्रायः सम्पूर्ण रूपले अन्धकारमा डुबिसकेको थियो । रात परिसकेकोले होटल वरिपरिका पसलहरूमा टुकी बत्ती बालेर पसलेहरू सामान बेचिरहेका थिए । सडक र गल्लीहरूमा मान्छेहरूको निकै घुइचो थियो । यात्रुहरूको भिडसँगै होटलभित्र प्रवेश गयौं । सयौं ग्राहकहरू एकै पटक आएकोले होला, होटलका कर्मचारीहरू निकै व्यस्त र आत्तिएका जस्तो देखिए । ग्राहकहरूलाई स्वागत गर्न र कोठाको व्यवस्था गर्न तिनीहरूलाई हम्मे हम्मे परिरहेजस्तो लाग्थ्यो ।
भोक र थकानले रन्थनिएका यात्रुहरू काउन्टरको वरिपरि भेला भएर खाना र कोठाको व्यवस्था सकेसम्म छिटो मिलाउन अनुरोध गरिरहेका थिए तर भाषाको समस्याले गर्दा यात्रुहरूको कुरा कर्मचारीले बुझ्न सकिरहेका थिएनन् । कर्मचारीहरू के भनिरहेका थिए त्यो पनि यात्रुहरूल्ऽे बुझिरहेको थिएनन् । स्थानीय भाषा मात्र जानेका होटल कर्मचारीहरूले अंग्रेजी भाषा बुझ्ने कुरै भएन । त्यसमध्ये एउटा कर्मचारी भने अलिअलि उर्दू भाषा जान्दो रहेछ तर ऊ पनि धेरै यात्रीहरूले घेरिएर सबैको जिज्ञासा सुन्दा र जवाफ दिँदादिँदै निकै मायालाग्दो भैसकेको थियो ।
हामी त्यो भीडतिर नलागिकन हामीलाई पनि सोध्न कोही आउलान् भनेर एउटा कुनातिर गएर उभियौं । करिब पैंतालीस मिनेटको पर्खाइपछि एउटा कर्मचारीले साथी सन्तोष, म र सँगै रहेका अरू तीन जनाको अगाडि आएर उसैको भाषामा खै के के भन्यो । भाषा नबुझे पनि इशाराको तालमा उसको पछिपछि लागेर हामी पाचौं तलाको एउटा कोठामा पुयौं । माथि गएपछि मात्र थाहा भयो, होटेलको अवस्था हामीले सोचेभन्दा बिजोगको रहेछ । मजारमा भएका ठूला होटेलहरूमध्येको एउटा भए पनि भर्खर मात्र सेवा सुरू गरेको र निर्माणको काम नसकिएकोले सबैलाई कोठा पुर्याउन तिनीहरूलाई गाह्रो भएको रहेछ । धेरै यात्रीहरूलाई एक रातको लागि जसरी पनि राख्नै पर्ने बाध्यात्मक अवस्था आइपरेकोले अन्तिम अवस्थामा निर्माणाधीन कोठाहरूलाई तत्काल बढारकुँडार गरेर छेउछाउमा भएका सानातिना होटल र गेस्ट हाउसहरूबाट समेत लुगाकपडा ल्याएर काम चलाउने प्रयास हुँदै रहेछ । हामीलाई उपलब्ध गराइएको कोठा पनि रित्तो थियो तर एकैछिनमा दुईवटा म्याट्रेस ल्याएर कामदारहरूले राखिदिए । रात बिताउने ठाउँको टुङ्गो बल्ल लाग्यो भनेर हामी एकप्रकारले खुसी भयौं ।
होटल पुगेको दुई घण्टा भैसकेको थियो, त्यहाँको अस्तव्यस्त अवस्था देखेर नजिकैको अर्कै कुनै होटेलमा गएर बसौं भन्ने सल्लाह पनि हामीबीच नभएको होइन तर पनि रातीको समय, यात्राको अज्ञात परिस्थिति, सुरक्षाको चिन्ता र अर्को दिनको उडानको अनिश्चिततालगायतका कुराहरूले गर्दा तत्काल त्यसो गर्न सम्भव ठानेनौं । हाम्रो समूहमा म र सन्तोषबाहेक उक्त कोठामा दिउसो विमानस्थलमा भेट भएका नेपालीहरू पनि थिए । त्यहीं बस्ने टुंगो भएपछि एक जनाले चाहिँ नजिकैको एउटा सुरक्षा कम्पनीमा गार्डको रूपमा कार्यरत साथीहरूलाई फोन गरेर आफूलाई लिन आउन बोलाएका रहेछन् । उनले आफू होटलमा नबस्ने र साथीहरूसँग नजिकै एउटा क्याम्पमा जाने बताएपछि उनलाई विदा गर्न भनेर हामी सबै होटलको भुइँतलासम्म झर्यौं ।
सडक, पसल र गल्लीहरूमा मानिसको भिड कायमै थियो । होटललगायत अन्य केही भवनहरूमा बिजुलीको व्यवस्था भए पनि सिंगो मजार शहर भने अन्धकारमा थियो । गेटमा उभिएर करिब दश मिनेट प्रतीक्षा गरेपछि साथीहरू आइपुग्नै लागेको खबर मिल्यो । त्यसको पाँच मिनेटपछि निकै तीव्र गतिमा तीनवटा बुलेटप्रुफ गाडीहरू हामी उभिरहेको नजिकै आएर रोकिए । सेकेण्ड पनि ढिला नगरी प्रत्येक गाडीबाट २–२ जना सुरक्षाकर्मीहरू अत्याधुनिक हतियारसहित ओर्लिए र गाडीहरूको अगाडि, पछाडि र सडकतिर फर्किएर कोही सिधा उभिएर अनि कोहीचाहिँ एउटा घुँडाले टेकेर लोड गरिएका हतियारहरूले वरिपरि निशानी ताक्दै आ–आफ्नो पोजिसन लिए ।
साथीलाई विदा गर्न गाडीको प्रतीक्षा गरिरहेका हामीहरूले अकस्मात जुन दृश्य देख्यौं, हाम्रा लागि त्यो अकल्पनीय र हाम्रो सोचाइ बाहिरको थियो । मेरा पाइलाहरू त आफैं २–३ कदम पछाडि सरेछन् । रातको दश बजेतिरको समय, मध्य शहरको चौबाटो, सडक पेटी र छेउछाउका पसलहरूमा मान्छेहरूको घुइँचो अझै थियो । पश्चिमतर्फको सडकबाट एउटा ट्याक्सी आउदै गरेको देखियो । जसै त्यो ट्याक्सी नजिक आउँदैै गयो, एक्सनमा रहेका ती हतियारधारीहरूको हतियार ट्याक्सीतफै नै सोझियो ।
वरिपरि रहेका मानिसहरू जहाँको त्यही खडा भएर सो दृश्य हेर्न थाले । भिड बढ्दै गयो । हेर्दाहेर्दै परिस्थिति यस्तो निर्माण भयो मानौं त्यहाँ दोहोरो गोली हानाहानको लागि एउटा पक्ष तम्तयार भएर बसेको छ । तत्काल्ऽ फायरिंग सुरू हुँदैछ र म आफूचाहिँ त्यसको साक्षी बनिरहेको छु । सिनेमाका पर्दाहरूमा अत्यन्तै कुशलतापूर्वक देखाइने त्यस्ता दृश्यहरू आँखा अगाडि नै प्रत्यक्ष रूपमा देख्न पाइयो । तर अचानक भएर होला, त्यो दृश्य सपना हो या वास्तविकता हो भनेर ठम्याउनै सकिनँ । अकस्मात पाँच सातवटा हतियारहरू आफूतिर सोझिएकोले होला, ट्याक्सीको गति निकै कम भयो । ड्राइभर र यात्रुहरूको अनुहार डरले रातो पिरो भएको थियो । ठूलो विप्लव हुनु पूर्वको मुर्दा शान्ति जस्तै भयो त्यहाँको वातारण । एकदम सन्नाटा । त्यो स्थान छिचालेर पर पुगुन्जेलसम्म पनि केही हतियारहरू ट्याक्सीतर्फ सोझिइरहेकै थिए । अफ्गानिस्तानभरि नै हरेक दिनजसो कार बम बिस्फोटका घटनाहरू भएर होला ट्याक्सी देख्ने बित्तिकै त्यति धेरै सतर्कता अपनाइएको हुनुपर्छ । अकस्मात कसैले मेरो हात तान्दा पो झसङ्ग भएँ । ‘लौ है साथी, मेरो गाडी पनि आइपुग्यो, जाने बेला भयो, तपाई राम्रोसँग बस्नु होला । अब छुट्टिऔं है’ भन्दै विदाइको हात मिलाउनको लागि जान लागेका साथीले मेरो हात तानेका रहेछन । ‘तपाई पनि सुरक्षित रूपले जानु होला, अब भोलि विमानस्थलमैं भेटौला’ भनेर मैले जवाफ दिएँ । उनी रोकिरहेको गाडीमा गएर बसे । उनीहरू बसिसकेपछि हतियारधारी सुरक्षाकर्मीहरू पनि आ–आफ्नो पोजिसनबाट पछि हट्दै फुत्त फुत्त गाडीभित्र पसे । त्यसपछि तिनवटै गाडीहरू हर्न बजाउदै सडकको पूर्वतर्फ बिलिन भए ।
साथीको बिदाइपछि हामी होटलभित्र छिर्यौं । काउन्टर वरिपरि यात्रीहरूको भिडभाड कम भैसकेको थिएन । कयौ यात्रुहरू सुत्ने कोठाको लागि कराइरहेका थिए । कतिपय त वरिपरि त्यतिकै निदाइरहेका देखिन्थे । भोक, थकान र अस्तव्यस्ताले गर्दा धेरैको लागि त्यो रात निकै पीडादायी र असुविधाको रात बन्न पुग्यो । बल्ल बल्ल मध्य रातमा खान तैयार भएको जानकारी होटल व्यवस्थापनले दियो र सबैलाई एउटा ठूलो हलभित्र जम्मा हुन अनुरोध गरियो ।
‘भोक मिठो कि भोजन ?’ भन्ने नेपाली उखान जस्तै जे पाइन्छ त्यो खाएर आराम गर्न सबै व्यग्र थियाैं । उडानको समयमा विमानमा दिएको खानाले १२ घण्टा बढी धानिसकेको थियो । सबैजना भोकले व्याकुल थियौ । केही छिनपछि खाना पनि आइपुग्यो । हतारिंदै जब खाना पस्किन अनुरोध गरेँ, थाहा भयो त्यहाँ त नन्भेज परिकार मात्रै रहेछ । म आफू शाकाहारी भएकोले गर्दा उक्त खाना खान असमर्थता व्यक्त गर्दै भेज खानाको लागि अनुरोध गरेँ । मेरो कुरा त्यो कर्मचारीले बुझ्दै बुझेन । मेरो अनुरोधलाई वास्तै नगरी ऊ अगाडि बढ्यो । संयोगवश एकजना उर्दू भाषा जान्ने कर्मचारी पनि रहेछ, उसलाई बोलाएर आफ्नो समस्या सुनाएँ । तर उसले पनि तत्काल शाकाहारी खान बनाउन असमर्थता व्यक्त गर्यो । यदि छुट्टै रकम तिर्नु पर्ने भए आफू त्यसको लागि पनि तयार रहेको र केही समय पर्खन सक्ने कुरा बताउँदा पनि होटलमा शाकाहारी खाना बनाउन चाहिने कुनै पनि सामग्री नभएको भन्दै आफ्नो असमर्थता दोहोर्यायो ।
बाहिर कुनै पसलहरूमा किन्न पाइने भए त्यो पनि स्वीकार्य हुने र त्यसको लागि सहयोग गरिदिन उसलाई पुनः अनुरोध गरेँ तर सडक वरिपरिका सबै पसलहरू धेरै अगाडि नै बन्द भइसकेकोले त्यो विकल्प पनि सम्भव नभएको जानकारी पाएँ । त्यति लामो विदेश बसाइका क्रममा कहिले पनि शाकाहारी भएकै कारणले भोको बस्नु परेको थिएन । घरैमा बनाएर खाएको जस्तो नभए पनि केही न केही खाना उपलब्ध हुने गर्दथ्यो तर त्यस रात पहिलोपल्ट गोजीमा पर्याप्त अमेरिकी डलर भएर पनि खाने कुरा नपाएर भोकै सुत्नु पर्ने अवस्था आइपर्यो ।
घर छोडेर हिड्ने बेलामा आमाले भन्नेगर्नुहुन्थ्यो, ‘बाबु तैंले अहिलेसम्म माछा, मासु केही खाएको छैनस् । अब विदेश जान लागिस् ? विदेशमा कसले पकाएर दिन्छ ? कहाँ खान्छस् ? के खान्छस् ? माछा–मासु नखाई विदेशको ठाउँमा कसरी बाँचिएला र ?’ आमाको यी प्रश्नहरूमा मेरो जवाफ हुने गर्दथ्यो– विदेश जाने भन्दैमा जे पायो त्यही खाइहाल्नु पर्छ भन्ने पनि छैन । माछा मासुबाहेक पनि अरू केही न केही त भेटिएला नि आमा खानलाई । माछा मासु नखाएका कारण भोकभोकै परिने अवस्था आयो भने त्यति बेला केही सोचौंला । कुनै दिन आमासँग भएका यस्तै कुराहरूको स्मरण गर्दै कुनै सहृदयी यात्रीले दिएको एक दाना स्याउ र चिसो पानी पिएर ओछ्यानमा पल्टिन बाध्य भएँ । त्यो रात मैले शाकाहारी भएका कारण पहिलोपल्ट असजिलो भोग्नुपरेको थियो ।
‘अल्लाह हुँ अकबर, अल्लाह हुँ अकबर’ को आवाजसँगै बिहानीपख आँखा खुल्यो । घडी हेरें, बिहानको ५ बजेको रहेछ । उठेर हात मुख धोइसकेपछि होटलको छैठौं तल्ला माथिको झ्यालबाट मजार–ए–शरीफ शहरलाई नियाल्ने मौका मिल्यो । मिर्मिरे बिहानीसँगै तल सडकहरूमा मानिसको चहल पहल सुरू भैसकेको थियो । सटकमा साइकल यात्रीहरू प्रसस्तै देखिन्थे । लामो दाह्री पालेको र टाउकोमा फेटा बाधेको एकजना मान्छे, ऊसँगै बुर्का लगाएका दुई तीन जना महिला र तिनीहरूसँग अन्य चार पाँचजना केटाकेटीहरू पोकापन्तुरासहित कतै जानको लागि सडकमा सवारी पर्खिरहेका देखिन्थे । त्यस्तै कोही भने गधा या ऊँटल्ऽे तानिएका टाँगा र गाडाहरूमा समानसहित बसेर कतै गइरहेका देखिन्थे । मासुको लागि होला शायद, टाउको गिँडिएका पशुहरू गाडामा राखेर यता उता लैजाँदै गरेको दृश्य पनि देख्न सकिन्थ्यो । शहरमा नयाँ घरहरू त्यति धेरै थिएनन् । अग्ला भए पनि पुराना घरहरूको बाहुल्यता भए जस्तो लाग्दथ्यो । वरिपरि धेरै संख्यामा मस्जिदहरू देख्न सकिन्थ्यो । होटलको झ्यालमा उभिएर निकै बेर शहरको बिहानीपखको दृश्यल्ऽाई नियालिरहें । करिब ७ः३० बजेतिर नास्ता नगरिकनै होटलबाट बाहिरियौं । अघिल्लो दिनदेखि लागेको भोक अझै लागिरहेकै थियो । बसबाट पारिलो घाममा सडकको बिहानी दृश्य र अघिल्लो दिन देखिएको ‘नीलो मस्जिद’ को चमकमा पुनः आनन्दित हुँदै विमानस्थलतिर प्रस्थान गयौं ।
अघिल्लो दिन उडान स्थगन भएकोले सुरक्षा जाँच बिनै यात्रीहरूको पासपोर्ट मात्र हेरेर विमानसम्म पुग्ने व्यवस्था मिलाइएको रहेछ । विमानभित्र चढ्ने बेलामा चाहिँ पासपोर्टको साथै नयाँ दिल्लीमा दिएको बोर्डिंग पास समेत विमान कर्मचारीहरूलाई देखाउनुपर्ने व्यवस्था गरिएको रहेछ । लाइनको बीचमा रहेर जब विमानतर्फ अगाडि बढ्दै गएँ, तब मात्र मैले आफुसँग मेरो बोर्डिंग पास नभएको थाहा पाएँ । जति खोजतलास गर्दा पनि पत्ता लाग्नै सकेन । लाइनमा आफ्नो पालो आएपछि विमान कर्मचारीलाई आफुसँग बोर्डिङ पास नभएको बताएँ । उनीहरूले मलाई लाइनबाट हटेर अर्कैतिर उभिन लगाए । मभन्दा पछाडिको लाइन लामो भएकोले उनीहरूसँग दोहोरो कुरा गर्न तत्काल सम्भव देखिएन र छेउतिर उभिएँ ।
आफूले लगाएको कपडाको कुनै खल्तीमा पो अड्किएको छ कि भनेर आफैंलाई पटक पटक छामछुम पारें । बिहान होटलबाट निस्कने बेलामा कोठामा कुनै सामान पो छुटेको छ कि भनेर निकै राम्रोसँग खोजतलास गरेको थिएँ, त्यसैले त्यहाँ छुट्ने सम्भाना थिएन । आफ्नै कर्म र बेहोसीले गर्दा नचाहिँदो दुःखमा पर्नुपर्यो भनेर आफैंलाई धिक्कार्नु सिवाय अर्को विकल्प बाँकी थिएन । सबै यात्रीहरू विमानभित्र बसिसकेपछि अन्त्यमा म मात्रै बाँकी रहें । विमान उड्ने समय भैसकेकोले होला, मलाई मेरो पासपोर्ट देखाउन भनियो । नयाँ दिल्लीबाट उड्ने बेलामा अध्यागमनले पासपोर्टमा लगाएको गमन छापको आधारमा अन्त्यमा विमानमा चढ्ने अनुमति पाएँ ।
एउटा ठूलो संकटबाट मुक्ति मिल्यो जस्तो लाग्यो र निकै लामो सास फेर्दै विमानभित्र प्रवेश गरेँ । सबै यात्रीहरू आ–आफ्नो सिटमा बसिसकेका थिए । आफ्नो सिटमा गएँ, खाली नै थियो । सिटबाट अघिल्लो दिन पढ्दै गरेको पुस्तक हातमा लिएँ र सिटमा बसें । बेल्ट बाँधेर यसो पुस्तकको पन्ना पल्टाउन के लागेको थिएँ, पन्नाभित्रबाट त हराएको बोर्डिंग पास पो निस्कियो । थुइक्क ! दुई दिनदेखि पाएको हैरानी त छँदै थियो, आफ्नै गल्ती र बेहोसीले गर्दा मिलेको थप झन्झट र दुःख सम्झँदै आफैंलाई गाली गरेँ । विमानले भुइँ छोडेपछि बल्ल आनन्दको सास फेर्न पाइयो । बिना कुनै झन्झट र सुरक्षित रूपमा काबुल पुगिएला भन्ने आशा गर्दै आकाशमा काबा खादै गरेको विमानको उडानसँगै करिब बीस घण्टादेखि भोको रहेको पेटमा शाकाहारी नास्ताको मज्जा लिन थालें ।
फाल्गुन ७, २०६८
