नवकान्तिपुर संवाददाता
काठमाडौं, ३ भदौ ।

नेपाली कांग्रेसका जिल्ला सभापतिहरूको तर्फबाट केन्द्रीय सभापति तथा प्रधानमन्त्री शेबहादुर देउवालाई क्रियाशील सदस्यतामा देखिएको अन्यौलता चिर्दै त्यसबारेमा अहिलेसम्म भएका प्रगतिलाई इमानदारीपूर्वक सार्वजनिक गर्न एक ध्यानाकर्षण पत्र बुझाएका छन् ।
ध्यानाकर्षण पत्रमा अगाडि भनिएको छ– नेपालको संविधानमा राजनीतिक दल सम्बन्धी रहेको प्रष्ट व्यवस्था (धारा २६९ को उपधारा ४) का कारण उत्पन्न भएको वैधानिकता सम्बन्धी प्रश्नको भरपर्दो निरूपण नगरी नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको हालै सम्पन्न बैठकले क्रियाशील सदस्यता सम्बन्धी समस्याहरू समाधान गरी भदौ १८ बाट वडा अधिवेशन आरम्भ गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो । तर आजको दिनसम्म कुन कुन जिल्लाका कुन कुन समस्याहरू के कसरी समाधान भए र क्रियाशील सदस्यताको अद्यावधिक अवस्था के छ भन्ने कुरा अझै सार्वजनिक गरिएको छैन ।
जिल्लास्तरीय क्रियाशील सदस्यता प्रारम्भिक छानविन समितिको विधानसम्मत अधिकार खोसेर केन्द्रीय छानविन समितिले उजुरी वा गुनासो सोझै केन्द्रमा पठाउन निर्देशन भएबमोजिम संकलित उजुरी र गुनासोहरूको के कति सम्बोधन भयो, भएन वा हुँदैछ भन्ने कुराको कुनै जानकारी नगरिएका कारण क्रियाशील सदस्यताको विषयलाई लिएर सबै तहका साथीहरू यतिखेर अन्यौलग्रस्त, त्रसित, आतंकित र भयक्रान्त छन् । यस्तो मनोदशामा पार्टी सदस्यहरूलाई राख्नु भनेको पार्टी जीवनकै लागि स्वस्थकर होइन ।
पारदर्शी सदस्यता प्रणाली लोकतन्त्रको आत्मा हो । महाधिवेशनको वातावरण क्रियाशील सदस्यताको सार्वजनिकीकरण र शुध्दीकरणले मात्र सुनिश्चित गर्दछ । तसर्थ, अविलम्ब क्रियाशील सदस्यता नामावली सार्वजनिक गर्न, निर्धारित मापदण्ड बमोजिम समस्याहरूको निराकरण गर्न तथा स्वच्छ, निष्पक्ष महाधिवेशन सुनिश्चित गर्न हार्दिक आग्रह गर्दछौं ।
शतप्रतिशतभन्दा बढी इन्ट्री भएका, पार्टीको तहगत सिफारिस नभई सोझै माथिबाट थपिएका तथा अन्य पार्टीबाट समायोजनका नाममा विना आधार जथाभावी इन्ट्री गरिएका नामहरू अविलम्व हटाइयोस् र तहगत सिफारिस भएर पनि ईन्ट्री नभएका नामहरू तत्काल्ऽ समावेश गरियोस् । वडा भेलामार्फत वडा कार्यसमितिले माइन्यूट गरी पठाएको दस्तावेज (हार्डकपि) लाई मात्र आधिकारिकता दिइयोस् ।
हामी जिल्ला सभापतिहरूले उठाएका जायज आवाजमाथि पटक पटक उपेक्षा हुँदै आएको हामीले महसुस गरेका छौं । क्रियाशील सदस्यताको पारदर्शी समाधान खोज्ने भनिएको यतिदिन भैसक्दा पनि क्रियाशील सदस्यतासँग जोडिएका सवालहरूको समाधानलाई लिएर आजसम्म जिल्ला सभापतिहरूसँग कुनै परामर्श गरिएको छैन ।
विधि, पद्धति र मापदण्ड अनुसार समाधान खोज्ने कुरामा हामी सहयोग गर्न सदा तत्पर छौं । विनम्रतापूर्वक यति आग्रह गर्दागर्दै पनि पार्टीको वैधानिकता र क्रियाशील सदस्यताको पारदर्शिता सम्बन्धी हाम्रा सामूहिक चासो र चिन्ताको गम्भीरतापूर्वक हल नखोजिएमा हामी कस्तै कठोर कदम चाल्न समेत बाध्य हुने कुरा बेलैमा जानकारी गराउँछौं ।
