
बुढानिलकण्ठ– ६, पासिकोटमा विहीबार दिउँसो दुई दिनकी सुकेरी बोकेर आएको ट्याक्सी बुढानिलकण्ठस्थित पासिकोटको लुडेखोला खसेको छ । लुडेखोलामा पुल निर्माणको काम भइरहेको देखेर ट्याक्सी ड्राइभर ट्याक्सी रोकेर बाटो हेर्न ओर्लिएको बेलामा ट्याक्सी आफैं गुडेर खोलामा खसेको प्रत्यक्षदर्शी बताउँछन् ।
बुढानिलकण्ठका इन्स्पेक्टर आरके तामाङका अनुसार ट्याक्सीभित्र नै रहेकी सुत्केरी स्मृति तामाङ र २ दिनको शिशुलाई टिचिङ अस्पातल पठाइएको छ । सुत्केरी स्मृति तामाङको अवस्था गम्भीर रहेको पनि इन्स्पेक्टर आरके तामाङले जानकारी दिए ।
पुल निर्माणमा लापर्बाही भएको कारण दुर्घटना भएको स्थानीयबासी बताउछन् । केही दिनेअघि पनि एउटा कार खोलामा खसेको थियो । पुल निर्माणको ठेक्क पाएका ठेकेदार कम्पनी ‘कडेल निर्माण सेवा’ का ठेकेदारसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन । प्रदेश सरकारबाट बजेट परेको हुनाले स्थानीय जनप्रतिनिधिको कुरा ठेकेदारले नसुन्ने गरेको स्थानीयको भनाई छ । स्थानीयबासी मानबहादुर श्रेष्ठ भन्छन् ‘विकास कसलाई मन पर्दैन र ? तर विकासको नामामा भइरहेको पुल भत्काएर केही काम गरे जस्तो गर्ने अनि काम ठप्प परेर बेपत्ता भइदिनाले दुर्घटनाहरू भइरहेका छन् ।’
