कृष्णप्रसाद न्यौपाने
काठमाडौं, ५ भदाै ।
राणा, राजा, पञ्च हटाई
झलमल गर्ने राष्ट्र बनाई ।
सपना हाम्रा उम्दा नौला
अधुरै बन्दा हुन्छ बिलौना।।
नैष्ठिक शिक्षा त्यागी आज
देशी भाषा पढ्न तयार ।
खोज्छौँ हामी सभ्य समाज
होला सम्भव राष्ट्र विकास ?
भाषा, संस्कृति धार्मिक श्रद्धा
पहिरन राम्रो आफ्नो भन्दा ।
बोली इङ्लिस लाग्दछ खासा
कसरी होला देश विकास ?
सुरुवाल कोट दौरा टोपी
खास्टो, चोलो, फरिया, पटुकी
नचिनी रोज्छौँ भेष विदेशी
भयौँ र हामी योग्य विकासी ?
मुरली , मादल , डम्फु हरायो
ढोलक, झ्याम्टा छैन बिनायो ।
नौमती वाद्य लाग्छ बिरानो
प्यारो लाग्ने आज पियानो।।
भाषण आहा१ रासन खोई ?
दुःखी मान्छे बस्छन् रोई ।
देला कसले खाना बास
दीन गरिबको खै त विकास ?
पानी बेची बिजुली किन्छौँ
जड सब बेची औषध लिन्छौ ।
उद्योगीको छैन निकास
होला कसरी सभ्य विकास ?
ढुङ्गा माटो जल र बलौटो
बेच्न तयारी लाग्छ अनौठो ।
संरक्षणको छैन प्रयास
दोहन गर्दा हुन्छ विकास ?
खेत र बारी बाँझो पारी
रासन सब्जी किन्छौँ हामी ।
परनिर्भरता बन्द निकासी
हामी सोखी भव्य विकासी ।।
छोडी गाई भैंसी खेती
छोराछोरी दूर विदेशी।
सहर पियारो गाउँ नराम्रो
उन्नति पक्का हो यो हाम्रो ?
हत्या हिंसा दुष्ट स्वभाव
आदर श्रद्धा विनय अभाव ।
छाडापनले ग्रस्त समाज
यस्तै हाम्रो राष्ट्र विकास।।