नवकान्तिपुर संवाददाता
काठमाडौं, ११ भदाै ।
अफगानिस्तानका पूर्व राष्ट्रपति हमिद कार्जाइ र राष्ट्रिय पुनः मिलन उच्च परिषदका प्रमुख अब्दुल्ला अब्दुल्लाहलाई नजरबन्दमा राखिएको अमेरिकी समाचार संस्था सीएनएनले दाबी गरेको छ। विहीबार प्रसारित एक कार्यक्रममा कार्जाइ र अब्दुल्लाह अब्दुल्लाहलाई सुरक्षाकर्मीलगायतको सहयोगी समूहबाट अलग गरी तालिबान समूहले काबुलस्थित उनीहरूको घरमा नजरबन्द मा राखेको दाबी सीएनएनले गरेको हो।
समाचारअनुसार तालिबान समूहको दयामा भरोसा गरिरहेका ती राजनीतिज्ञहरूको गाडी पनि जफत गरिएको छ। तालिबान बुधबार अब्दुल्लाहको घरमा पुगेका रिपोर्टहरू सार्बजनिक भएका छन्। काबुललाई आफ्नो कब्जामा लिएदेखि तालिबानले अफगानिस्तानमा समावेशी सरकार गठन गर्ने प्रतिज्ञा गरिएको छ। यस समूहले पूर्व राष्ट्रपति कार्जाइ र पूर्व मुख्य कार्यकारी अब्दुल्लाहसँग वार्ता गरेका छन्। तालिबानको अनपेक्षित आक्रमणपश्चात् यी दुई अधिकारी काबुलमा रहँदै आएका छन्।
गत हप्ता अब्दुल्लाह अब्दुल्लाह र कार्जाइले काबुलका कार्यकारी तालिबान गभर्नर अब्दुल रहमान मानसौरलाई भेटका थिए। त्यसक्रममा उनीहरूले काबुल नागरिकको जीवन, सम्पत्ति र गरिमा रक्षाको प्राथमिकताका विषयमा छलफल गरेका थिए । त्यस अवसरमा अब्दुल्लाहले तालिबानका कार्यवाहक काबुल गभर्नरसँग राजधानी काबुलमा सामान्य अवस्थामा बसोबास गर्न सुरक्षित महसुस गर्ने वातावरणको सिर्जना गर्न आग्रह गरेका थिए।
तालिबान नेतासँगको भेटपछि अब्दुल्लाहले तालिबानले समावेशी सरकार बनाउने विश्वास व्यक्त गरेका थिए । यसै महिनाको सुरुतिर संयुक्त सरकारका लागि अन्तर्राष्ट्रिय दबाबपछि तालिबान प्रवक्ता जाबिहुल्लाह मुजाहिदले सबै पक्ष समावेश भएको सरकार स्थापना गर्ने प्रतिज्ञा गरेका थिए।