६ जनाको हत्या : धारिलो हतियार नभई रड प्रहारबाट हत्या भएको आशंका(अपडेट)

शवलाई विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइयो

संखुवासभामा एकै परिवारका ६ जनाको हत्या भएको दोस्रो दिन हुँदा अनुसन्धान थप तीव्र बनाइएको छ । आज(मंगलबार) भएको अनुसन्धानमा हत्या गरिएका सबै छ जनाको टाउकोमा चोट देखिएको छ ।

त्यस्तै छ जनाकै हत्या धारिलो हतियारबाट नभई रड प्रहार गरि हत्या भएकोे प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका डिएसपी लालध्वज सुवेदीले जानकारी दिए । हत्या भएको छ जनाको शवलाई विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको जनाइएको छ ।



अनुसन्धानको लागि अहिले सङघीय प्रहरी इकाई कार्यालय धरानका प्रहरी उपरीक्षक भीम दाहालको कमाण्डमा विशेष टिम घटना लगायत इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक योगराज खतिवडा र जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका डिएसपी लालध्वज सुवेदीको टोलीले अनुसन्धन गरिरहेको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिए ।

धरानका एसपी भीम दाहालको नेतृत्वमा तालिम प्राप्त दुई कुकुरले सुक्ष्म अनुसन्धन गरिरहेका छन् । त्यसतै अपराधी भाग्न नपाउन भनेर सङ्खुवासभाका सबै नाकाहरूमा प्रहरी परिचालन गरिएको छ । डिएसपी सुवेदीको अनुसार फरेन्सिक विज्ञको टोली समेत घटनास्थल तर्फ पुगेर अनुसन्धान गरिरहेको छ ।

संखुवासभामा एकै परिवारका ६ जनाको हत्या भएको थियो । संखुवासभा जिल्लाको मादी नगरपालिका वडा नं १ को खुमलिङमा बौद्धमान कार्कीको परिवारका छ जना मृत फेला परेको र निज कार्की भने जीवित रहेका थिए । उनी कान कम सुन्ने र आँखा पनि धमिलो देख्छन् । हत्या हुनेहरुमा ५८ वर्षिय तेजबहादुर कार्की, उनका आमा पार्वता कार्की ८० वर्षिय, श्रीमती मनमाया कार्की ५६, बुहारी रञ्जना कार्की २८ वर्षिय, नाती दिपक कार्की १० बर्षिया र ५ वर्षिय नातिनी गोमा कार्की छन् । उनीहरु मध्ये कसैको शव बाटोमा, कसैको बारीमा र खोल्सामा भेटिएको थियो ।

तराईमा जग्गाको बैना गरेर बौदमानको परिवार जग्गापास गर्न जाने तयारीमा थियो। जग्गापास गर्न लागेको खबर पाएकाले घरमा पैसा राखेको हुन सक्ने आशंकामा उनीहरूको हत्या भएको हुनसक्ने स्थानीयको अनुमान छ। तीजपछि उनीहरू तराईमा जग्गापास गर्न जाने तयारीमा रहेको मृतकका आफन्तले बताए।

घटनाको अनुसन्धान भइरहेको र आइतबर राति नै सबैको हत्या भएको हुनसक्ने प्रहरीले बताएको छ । घटनास्थल चैनपुरबाट ३ घण्टाको दूरीमा रहेको छ ।

यो पनि पढ्नुस :

एकै परिवारका ६ जनाको हत्याः जिल्ला नै सिल गरेर अनुसन्धान सुरु

६ जनाको हत्या प्रकरण : घटनास्थलमा तालिम प्राप्त कुकुर लगिदै (अपडेट)

सम्बन्धित समाचार