गयो जिन्दगानी (कविता, भुजङ्गप्रयात छन्द)

छ पीडा अचाक्ली सधैंको दुखाइ
बढेको छ कुण्ठा उदासी रुवाइ।
म प्यासी सदाको प्रतीक्षा बिहानी
नपाई उजेली गयो जिन्दगानी।।१।।

छ संसार निस्सार सन्त्रास धेरै
चलेकै छ यात्रा समस्या सहेरै।
यहाँ नित्य मिल्ने कडा धूप पानी
नपाई उजेली गयो जिन्दगानी।।२।।



सुनौलो छ आशा लगाऊँ किनारा
चुमूँ चन्द्रमा नै समाऊँ सितारा।
बिराएछु बाटो म हेर्दै नियाली
नपाई उजेली गयो जिन्दगानी।।३।।

छ बुट्यान काँडा कहाँ पुष्प पाएँ
बगैँचा छहारी मनैमा सजाएँ।
सधैं तड्पिँदैमा बिताएँ जबानी
नपाई उजेली गयो जिन्दगानी।।४।।

छ तिर्खा बढी नै मरुद्यान टाढा
बनेको छु निर्धो गुमाएँ सहारा।
नयाँ स्वप्न देख्ने हटाऊँ कि बानी
नपाई उजेली गयो जिन्दगानी।।५।।

नयाँ ठाउँ साथी सबैको छ साथ
जहाँ पुग्छु मिल्छन् दयाशील हात
कहाँ चुक्छु आफैँ भयो कर्म खोटी
नपाई उजेली गयो जिन्दगानी।।६।।

सधैं थक्क लाग्ने बिना अर्थ दौड
वितृष्णा धपेडी लगातार होड
अँध्यारो छ बाटो नमिल्दा बिहानी
नपाई उजेली गयो जिन्दगानी।।७।।

सुबाटो हिँडेको बनी सत्यवादी
सदाचार, सद्धर्म मेरो निसानी।
अविच्छिन्न यात्रा बिना लक्ष्य गामी
नपाई उजेली गयो जिन्दगानी।।८।।

उराठे बिढङ्गी प्रयासी म यात्री
कतै उष्ण मात्रै कतै शीत पानी।
कतै मिल्छ खाल्डो हिलो रेत खानी
नपाई उजेली गयो जिन्दगानी।।९।।

मिठो कल्पनामा रमाएर आज
म बढ्दै छु आगे लुकाएर त्रास।
जहाँ पुग्छ यात्रा म भोग्दो गिरानी
नपाई उजेली गयो जिन्दगानी।।१०।।

सम्बन्धित समाचार