कक्षा १२ को परीक्षा भोलिदेखि, कोरोना पुष्टि भए के गर्ने ?

भोलि बुधवारदेखि हुने कक्षा १२ को परीक्षाको तयारी पूरा भएको छ । प्रत्येक विद्यार्थीले आ–आफ्नै विद्यालयबाट परीक्षा दिन पाउने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा चन्द्रमणि पौडेलले बताए ।

परीक्षा बोर्डका अध्यक्ष पौडेलका अनुसार कोरोना सङ्क्रमण पुष्टि भएका विद्यार्थीहरूलाई पछि छुट्टै व्यवस्था गरिनेछ । विद्यार्थीले आफू सङ्क्रमित भएको प्रमाणसहित परीक्षामा सामेल हुन नपाएको जानकारी गराउने विद्यार्थीलाई पछि पनि परीक्षा दिन पाउने व्यवस्था गरिने उनले बताए ।



परीक्षाका लागि तयार पारिएका प्रश्न पत्र भोलि बुधवार बिहान साढे १० बजेसम्ममा अनलाइन माध्यमबाट हरेक परीक्षा केन्द्रमा पुर्‍याइने परीक्षा बोर्डका अध्यक्ष डा पौडेलले बताए । यसअघि गएको जेठमा तय भएको परीक्षा साउन ३१ गतेदेखि सुरु गर्ने तयारी थियो । तर कोरोना जोखिमका कारण साउनमा पनि स्थगित गरिएको परीक्षा भोलिदेखि हुन लागेको हो ।

सम्बन्धित समाचार