नवकान्तिपुर संवाददाता
काठमाडौं, ५ असोज ।
स्पेनिस ला लिगा फुटबल अन्तर्गत सोमबार राति भएको खेलमा बार्सिलोना र ग्रानाडाले बराबरी खेलेका छन् । गए राति भएको खेलमा ग्रानाडाले बार्सिलोनालाई १-१ को बराबरीमा रोकेको हो ।
बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा खेलको दोस्रो मिनेटमै कौटिन्हो मेनेसेस डुआर्टेले गोल गर्दै ग्रानाडालाई अग्रता दिलाएका थिए । पहिलो हाफ १-० मा सकिएको खेलमा दोस्रो हाफको अन्तिम मिनेटमा रोनाल्ड अरौजो गोल गर्दै हारतर्फ उन्मुख बार्सिलोनालाई बराबरीमा ल्याए र खेल १-१ को बराबरीमा सकियो । अन्तिम मिनेट सम्हालिन नसक्दा ग्रानाडाले अंक बाँड्न वाध्य भयो ।
बराबरीसँगै बार्सिलोना चार खेलबाट ७ अंक जोड्दै तालिकाको सातौं स्थानमा रहेको छ भने पाँच खेलमा ३ अंक जोडेको ग्रानाडा १७ औं स्थानमा रहेको छ ।