नवकान्तिपुर संवाददाता
काठमाडौं, ५ असोज ।

बुटवलस्थित ज्योतिनगरको पहिरो अवलोकन गर्न पुगेका बुटवल उपमहानगरपालिकाका मेयरमाथि आक्रमण गर्ने युवालाई प्रहरीले सोमबार साँझ पक्राउ गरेको छ । मेयर शिवराज सुवेदीमाथि स्थानीय युवा गणेश पङ्गेनीले सोमबार मुक्का हानेका थिए ।
उनी लुम्बिनी वाणिज्य क्याम्पस बुटवलका विद्यार्थी अनेरास्ववियू रुपन्देही जिल्ला कमिटी सदस्य समेत हुन् । चुरेबाट पहिरो खस्दा बुटवल उपमहानगरपालिका वडा नम्बर ३ ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रको अवलोकन गर्न पुगेका मेयर सुवेदीलाई पङ्गेनी एक्कासी मुक्का प्रहार गरेका थिए । पहिरो पीडितलाई सरकारले केही नगरेको भन्दै उनले मुक्का हानेका हुन् ।
उनलाई इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनलाई दुर्व्यवहार वा शान्ति सुरक्षासम्बन्धी मुद्दामा कारबाही हुने प्रहरीले जनाएको छ । उक्त क्षेत्रमा पहिरोका कारण करिब दुई दर्जन घरपरिवार प्रभावित भएका छन् ।
यो पनि पढ्नुस :

