नवकान्तिपुर संवाददाता
काठमाडौं, ५ असोज ।
आईसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय श्रङ्खला खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली ओमानबाट आज स्वदेश फर्केको छ । टोलीलाई नेपाल क्रिकेट सङ्घ (क्यान) का पदाधिकारीलगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।
ओमानमा सम्पन्न श्रङ्खलामा नेपालले चार खेलमध्ये दुईमा जित र दुईमा हार बेहोरेको थियो । नेपालले आइतबार भएको अन्तिम खेलमा पहिलो पटक ओमानलाई ७ विकेटले पराजित गर्दै एतिहासिक जित हासिल गरेको थियो । त्यसअघि सिरिजको पहिलो खेलमा नेपालले अमेरिकालाई पाँच विकेटले हराएको थियो भने दोस्रो खेलमा ओमानसँग पाँच विकेटले पराजित भएको थियो । त्यस्तै तेस्रो खेलमा नेपाल अमेरिकासँग ६ विकेटले हारेको थियो ।
लिग–२ मा नेपाल, अमेरिका, ओमान, स्कटल्याण्ड, नामिबिया, युनाइटेड अरब इमिरेटस् (युएई) र पपुवा न्युगिनी रहेका छन् । नेपाल आठ खेलमा आठ अङ्क जोड्दै लिगको चौंथो स्थानमा उक्लेको छ । ओमान १४ खेलमध्ये ११ मा जित र तीनमा हारका साथ २२ अङक जोडेर शीर्ष स्थानमा कायमै छ भने अमेरिका १६ खेलमध्ये सातमा जित र नौमा हारसहित १४ अङ्कका साथ दोस्रो स्थानमा छ ।
यस्तै स्कटल्यान्ड आठ खेलमा चारमा जित र तीनमा हारका साथ नौ अङ्क जोड्दै तेस्रो स्थानमा छ । स्कटल्यान्डले खेलेको एउटा खेल वर्षाको कारण रद्द भएको थियो । नामिबिया सात खेलमा चारमा जित र तीनमा हार बेहोर्दै आठ अङ्कसहित चौथों स्थानमा छ ।
यसैगरी युएई सात खेलमा तीनमा जित र तीनमा हारका साथ सात अङ्क जोड्दै पाँचौँ स्थानमा छ । युएईले खेलेको एउटा खेल रद्द भएको थियो । पपुवा न्युगिनी हालसम्म खेलेका आठवटै खेलमा पराजित भएको छ । पपुवा न्युगिनी अङ्कबिहीन बन्दै लिग–२ को पुछारमा रहेको छ । लिग–२ अन्तर्गत सन् २०२३ सम्म प्रत्येक टोलीले ३६ एकदिवसीय खेल खेल्ने छन् । लिग–२ शीर्ष तीन टोली सन् २०२३ मा भारतमा आयोजना हुने एकदिवसिय विश्वकपका लागि ग्लोबल छनोटमा स्थान बनाउने छन् भने पुछारमा रहने चार टोलीले प्लेअफ खेल्ने छन् ।