नवकान्तिपुर संवाददाता
काठमाडौं, ८ असोज ।
इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) अन्तर्गत बिहीबार राति भएको खेलमा कोलकाता नाइट राइडर्स विजयी भएको छ । गए राति भएको खेलमा मुम्बई इन्डियन्स कोलकातासँग ७ विकेटले पराजित हुन पुग्यो ।
आबुधाबीमा टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउदै १५५ रन बनायो । मुम्बईका लागि क्विन्टन डी ककले ५५ रनको अर्धशतकीय पारी खेले भने कप्तान रोहित शर्माले ३३ रन बनाए । त्यस्तै केइरन पोलार्डले २१ रन बनाई आउट भए भने
इशान किशनले १४ रन बनाए । कोलकाताका लागि लकी फेर्गुसन र प्रसिद्द कृष्णले समान २-२ विकेट लिए ।
१५६ रनको लक्ष्य लिएर मैदान उत्रेको कोलकाताले १५.१ ओभरमा ३ विकेट गुमाउदै पूरा गर्यो । उसका लागि राहुल त्रिपाठीले अविजित रहदै ७४ रनको अर्धशतकीय इनिङ्स खेले भने भेन्कातेश आयरले ५३ रन बनाए । त्यस्तै सुबमन गिल १३ तथा कप्तान इयान मोर्गन ७ रन जोडे ।
मुम्बईका लागि जस्प्रित बुम्राहले ३ विकेट लिए । जितसँगै कोलकाता ९ खेलमा ८ अंक जोड्दै तालिकाको चौथों स्थानमा उक्लिएको छ भने ९ खेलमा ८ अंक जोडेको मुम्बई छैटौं स्थानमा रहेको छ । प्रतियोगिता अन्तर्गत आज रोयल च्यालेन्जर्स बैंगलोर र चेन्नई सुपर किंग्स भिड्दै छन् ।