नवकान्तिपुर संवाददाता
काठमाडौं, ८ असोज ।
शनिबारदेखि त्रिवि क्रिकेट मैदानमा सुरु हुन लागेको एभरेष्ट प्रिमियर लिगको यो संस्करणमा आफुहरुले बलियो दाबेदारी प्रस्तुत गर्ने पोखरा राइनोजले जनाएको छ । राइनोजद्वारा बिहीबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै टिम म्यानेजर दिपासिंह अग्रवालले यसपटक राइनोजको टिम बलियो भएको दावी गरिन ।
‘यसपटक टिम मजबुत पार्न हामीले अक्सनदेखिनै ध्यान पुर्याएका छौं, टिममा अलराउण्डर खेलाडीको बर्चश्व छ’–उनले भनिन् । ‘यसपटक हाम्रो लक्ष्य जित हो, तर खेलको नतिजा जता पनि जान सक्छ, यद्यपी राइनोजका सबै खेल रोमाञ्चक हुने आशा लिएकी छु’–टिम वनर समेत रहेकी अग्रवालले बताइन् । उनले राइनोजले सुन्दर शहर पोखरालाई छातीमा टाँसेर मैदान उत्रन लागेको बताउँदै पोखरेलीहरुको साथ र माया पाउने अपेक्षा रहेको बताइन् ।
जम्प नेशनको स्वामित्वमा रहेको राईनोजले प्रतियोगितालाई आफ्नो पक्षमा पार्नका लागि विभिन्न रणनीति तय गरेको छ । जस अन्तर्गत उसले विगतको प्रस्तुतीलाई अध्यन गर्दै यस प्रतियोगिताका लागि मुख्य प्रशिक्षक, बलिङ्ग प्रशिक्षक र फिल्डिङ्ग प्रशिक्षकलाई चयन गरेर सु:खद नतिजा निकाल्ने अभियानमा रहेको पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।
पत्रकार सम्मेलनमा टिमका प्रमुख प्रशिक्षक उमेश पटवाल, टिम क्याप्टेन बिनोद भण्डारी, बलिङ्ग कोच शक्ति गौचन, फिल्डीङ्ग कोच रिजन प्रजु लगायतले यसपटक राइनोजको टिम चौतर्फी रुपमा सन्तुलित भएको बताए ।
राईनोजले नेपाली मार्की खेलाडी राष्टिय टोलीका विनोद भण्डारीको नेतृत्वमा विदेशी खेलाडीलाई पनि समावेश गरेको छ । जसमा दक्षिण अफ्रिकाका रिचार्ड अन्स्ट लेभी जसले विश्व कपमा प्रदर्शन गरिसकेका छन् । यस्तै वेष्ट ईन्डिजका केसरिक विलियम, श्रीलङ्काका असेला गुणरत्ने र साहान अरचसिगेलाई टिममा समावेस गरेको छ । पत्रकार सम्मेलनमा विदेशी खेलाडीहरुले राईनोजमा आवद्ध भएर नेपालमा प्रतियोगिता खेल्न पाउँदा निकै खुसी लागेको बताएका थिए ।