नवकान्तिपुर संवाददाता
काठमाडौं, १० असोज ।
इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) अन्तर्गत शनिबार भएको खेलमा दिल्ली क्यापिटल्स र पन्जाब किङ्स विजयी भएका छन् । गए राति भएको पहिलो खेलमा दिल्लीले राजस्थान रोयल्सलाई ३३ रनले पराजित गरेको छ भने सनराईजर्स हैदरावाद पन्जाबसँग पाँच रनले पराजित हुन पुग्यो ।
अबुधाबीमा टस हारेर ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउदै १५४ रन बनाएको थियो । दिल्लीका लागि श्रेयस एयरले ४६ रन बनाए भने शिम्रोन हिटमायरले २८ रन जोडे । त्यस्तै कप्तान ऋषव पन्त २४ रन बनाई आउट भए भने ललित यादव १४ रनमा अविजित रहे । राजस्थानका मुस्ताफिजुर रहमान र चेतन सकारियाले समान २-२ विकेट लिए ।
१५५ रनको लक्ष्य लिएर मैदान उत्रेको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउदै १२१ रन मात्र बनाउन सक्यो । उसका लागि कप्तान सन्जु सामसनले ७० रनको अर्धशतकीय पारी खेले भने महिपाल लोम्रोरले १९ रन जोड्नु बाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् । दिल्लीका एन्रिच नोर्कियाले २ विकेट लिए । जितसँगै दिल्ली १० खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा उक्लिएको छ छ भने ९ खेलमा ८ अंक जोडेको राजस्थान छैटौं स्थानमा रहेको छ ।
त्यस्तै शनिबार नै भएको अर्को खेलमा पन्जाब किङ्सले सनराईजर्स हैदरावादलाई पाँच रनले पराजित गरेको छ । सारजाहमा टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा ७ विकेट गुमाउदै १२५ रन बनाएको थियो । पन्जाबका लागि एडिन मार्क्रमले २७ रन बनए भने केएल राहुलले २१ रन जोडे । त्यस्तै हरप्रित १८ रनमा अविजित रहँदा क्रिस गेल्ले १४ रन बनाए । हैदरावादका लागि जेसन होल्डरले ३ विकेट लिए ।
१२६ रनको लक्ष्य पछ्याएको हैदरवादले निर्धारित २० ओभरमा ७ विकेट गुमाउदै १२० रन मात्र बनाउन सक्यो । उसका लागि जेसन होल्डरले अविजित रहँदै ४७ रन बनाए भने रिद्दिमान शाहले ३१ रन जोडे। त्यस्तै मनिष पाण्डेले १३ तथा केदार जादबले १२ रन बनाए । पन्जाबका लागि रबि बिश्नोईले ३ विकेट लिए भने मोहमद शामीको भागमा २ विकेट रह्यो । जितसँगै पन्जाब ९ खेलमा १० अंक जोड्दै तेस्रो स्थानमा उक्लिएको छ भने ९ खेलमा २ अंक जोडेको हैदरावाद पुछारमा रहेको छ ।
प्रतियोगिता अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा दिउँसो पौने चार बजे चेन्नई र कोलकाता भिड्दै छन् भने दोस्रो खेलमा पौने आठ बजे बैंगलोर र मुम्बई आमने सामने हुनेछन् ।