नवकान्तिपुर संवाददाता
काठमाडौं, १२ असोज ।

नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तलाई उपचारका लागि भोलि बिहान थाइल्याण्डको बैंकक जाने भएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सल्लाहअनुसार पुन बैंकक जान लागेका हुन् ।
जण्डिस बिग्रिएपछि देखिने समस्याबाट पीडित नेता पुनको ललितपुरस्थित सुमेरु अस्पतालमा उपचार गरिएको थियो । परीक्षणको क्रममा रगतमा बेलिरुबिनको मात्रा बढेको पाइएको पारिवारिक स्रोतले बताएको छ । चार वर्ष अघि पनि पुन उपचारको लागि बैंकक गएका थिए ।
अध्यक्ष प्रचण्डको सल्लाहअनुसार नै थप उपचारका लागि बैंकक लैजाने तयारी गरिएको नेता पुनका स्वकीय सचिव सन्तोष पुनले जानकारी दिए । नेता पुनको स्वास्थ्य अवस्था बुझ्न निवासमै पुगेका प्रचण्डले पुनलाई बैंकक गएर थप उपचार गर्न सुझाव दिएका थिए । पुन लामोसमय देखि जण्डिस रोगबाट पीडित छन् ।

