नवकान्तिपुर संवाददाता
ललितपुर, १३ कात्तिक l

नेपाली कांग्रेसले महाधिवेशनबाट पारित नीति तथा कार्यक्रम नागरिकसम्म पुर्याउन आगामी मङ्सिर महिनाभर ‘तयार छौँ’ अभियान सञ्चालन गर्ने भएको छ ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा बिहीबार केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्नुहुँदै सभापति गगनकुमार थापाले नागरिकका समस्या सम्बोधन गर्न र पार्टीलाई जिम्मेवारीपूर्वक अघि बढाउन अभियान सञ्चालन गर्ने प्रस्ताव गर्नुभएको हो ।
“कांग्रेसलाई देशका राजनीतिक, सामाजिक, सांस्कृतिक र आर्थिक समस्या समाधानका लागि तयार रहेको पार्टीका रूपमा नागरिकमाझ प्रस्तुत गर्नुपर्नेछ । महाधिवेशनमा भएका समीक्षा र आत्मालोचनाको चरण पूरा भएकाले अब परिणाममुखी काममा केन्द्रित हुनुपर्नेछ”, उहाँले भन्नुभयो ।
उहाँले पार्टीका पारित नीतिगत तथा साङ्गठनिक प्रस्तावलाई दस्तावेजीकरण गरी केन्द्रीय कार्यालयमार्फत तल्लो तहसम्म पुर्याइने जानकारी दिनुभयो ।
महाधिवेशनबाट पारित प्रस्तावलाई पूर्णता दिन आवश्यक सुझाव, संशोधन र थप विषय केन्द्रीय कार्यालयमा उपलब्ध गराउन उहाँले पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो ।
