नवकान्तिपुर संवाददाता
काठमाडौं, १२ असाेज ।

नेकपा (एकीकृत समाजवादी)मा कसको नेतृत्वमा सरकारमा सहभागी हुन्ने विषयमा विवाद भएको छ । पार्टी सचिव रामकुमारी झाँक्रीको नेतृत्वमा सरकारमा जाने कि पार्टीका पोलिटब्युरो सदस्य बिरोध खतिवडाको नेतृत्वमा सरकारमा जाने भन्ने विषयमा आन्तरिक विवाद सुरु भएको हो ।
पार्टीमा झाँक्री उच्च वरीयतामा सिनियर भएकाले उनको नेतृत्वमा सरकारमा जानु पर्ने एक पक्षको भनाइ रहेको छ भने अर्को पक्षले लामो समयदेखि सांसद र उमेरले पनि परिपक्क भएकाले खतिवडाको नेतृत्वमा सरकारमा सहभागी हुनु पर्ने जोड दिन थालेका छन् ।
कम्युनिस्टमा पार्टीको नेतृत्वलाई सिनियर मान्ने भएकाले पदका हिसाबमा पनि झाँक्री सचिव भएकाले उनले नै नेतृत्व गर्दा सकारात्मक सन्देश जाने एकथरीले चर्चा गर्न थालेका छन् । अर्को थरीले संसदीय अभ्यासमा खतिवडा पोख्त भएकाले उनको नेतृत्वमा जादा परिपक्वता देखिने तर्क गर्न थालेका छन् ।
मन्त्रालय भागवण्डामा समाजवादीले ५ मन्त्रालय पाउने भएको छ । पार्टीबाट खतिवडा र झाँक्रीको अलवा प्रेम आले, किसान श्रेष्ठ, जीवनराम श्रेष्ठ र मेटमणि चौधरी मन्त्री बन्ने भएका छन् । पार्टीले पदाधिकारीमा ठाउँ नपाएका नेताहरुलाई सरकारमा जाने अवसर दिएको छ । त्यसैगरी, सरला यादवलाई उपसभामुख बनाउनेबारेमा छलफल अगाडि बढेको छ ।

