कांग्रेसले टुंग्यायो सरकारमा जाने मन्त्रीको नाम, को-को परे ?

प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार मन्त्रिपरिषद् विस्तार गर्ने भएपछि दलहरुले मन्त्रीको नाम टुंग्याउन थालेका छन् । यसैक्रममा सत्तारुढ नेपाली कांग्रेसले सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुंगो लगाएको छ। कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेलसहितका शीर्ष नेताबीचको अनौपचारिक छलफलमा मन्त्री बन्नेको टुंगो लागेको हो।

गठबन्धनको भागवण्डामा कांग्रेसले प्रधानमन्त्रीसहित सात मन्त्री र एउटा राज्यमन्त्री पाएको छ। अहिले कांग्रेसबाट प्रधानमन्त्री देउवा, गृहमन्त्री बालकृष्ण खाँण, कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, परराष्ट्रमन्त्री डा नारायण खड्का र स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ छन्। अब कांग्रेसबाट तीन मन्त्री बन्ने छन्। जसअनुसार पौडेल समूहबाट दुई र सिटौला समूहबाट एकजना मन्त्री बन्दैछन्।

कांग्रेस स्रोतका अनुसार रामचन्द्र पौडेल समूहबाट दिलेन्द्रप्रसाद बडू र डा मीनेन्द्र रिजाल मन्त्री बन्ने भएका छन्। सिटौला समूहबाट भीमसेनदास प्रधान र उमाकान्त चौधरीमध्ये एकजना मन्त्री बन्ने भएका छन्। तर, सिटौलाले प्रधानमन्त्री देउवालाई नाम बुझाएका छैनन्।

प्रधान यसअघि पनि मन्त्री भइसकेकाले चौधरी मन्त्री बन्ने सम्भावना बलियो रहेको नेताहरू बताउँछन्।

सम्बन्धित समाचार