नेपाल मामिला हेर्ने भारतीय उच्च अधिकारी किन आए काठमाडौं ?

भारतीय विदेश मन्त्रालयका उच्च अधिकारी आज काठमाडौं आएका छन् । भारतीय विदेश मन्त्रालयका नेपाल र भुटान मामिला हेर्ने अनुराग श्रीवास्तव भारतको लगानीमा नेपालमा सञ्चालित परियोजनाको अनुगमन बैठकमा सहभागी हुन नेपाल आएको जनाइएको छ ।

अमेरिकाको न्यूयोर्कमा परराष्ट्र मन्त्री डा नारायण खड्का र उनका भारतीय समकक्षी एस जयशंकरबीच वार्ता भएको दुई दिनपछि उच्च भारतीय अधिकारीले काठमाडौंको भ्रमण गरेका हुन् । श्रीवास्तावले काठमाडौंमा रहँदा अर्थसचिव मधुकुमार मरासिनी, वाणिज्य सचिव दिनेश भट्टराई, कार्यवाहक परराष्ट्र सचिव प्रकाश सुवेदी लगायतलाई भेट्ने छन् ।

दार्चुलाका जयसिंह धामी प्रकरणपछि कुनै भारतीय उच्च अधिकारीको यो पहिलो भ्रमण हो । तुइनबाट महाकाली नदी पार गरिरहेका बेला भारतीय सुरक्षाकर्मीले तुइन काट्दा उनी महाकाली नदीमा बेपत्ता भएका थिए । यो विषयमा नेपालले भारतलाई कूटनीतिक नोटसमेत पठाइसकेको छ । तर यस प्रकरणमा भारतले कुनै लिखित जवाफ दिएको छैन ।

सम्बन्धित समाचार