नवकान्तिपुर संवाददाता
काठमाडौं, १३ असाेज ।

नेपाली कांग्रेसले थप तीन जिल्लाको क्रियाशील विवाद टुङ्ग्याएको छ । कैलाली, धनुषा र सर्लाहीको क्रियाशील सदस्यता नामावली सार्वजनिक गरिएको छ । सुदूरपश्चिम प्रदेशको राजधानी समेत रहेको कैलालीमा अब कांग्रेस अधिवेशनको ढोका खुलेको छ ।
सभापतिका दाबेदार तथा वर्तमान उपसभापति विमलेन्द्र निधिको गृहजिल्लामा पनि क्रियाशील सदस्यता विवाद टुंगिएको छ । क्रियाशील सदस्यता विवादकै कारण पार्टी कार्यालय सानेपामा प्रदेश २ का खेलकुद वीरेन्द्रप्रसाद सिंह र सर्लाहीका बरहथवा नगरपालिका–४ का वडाध्यक्ष लाखिन्द्र महतोबीच कुटाकुट भएको थियो । क्रियाशील छानविन समितिका सदस्य योगेन्द्र चौधरीका अनुसार कैलाली निर्वाचन क्षेत्र नम्बर एकमा १३ औं महाधिवेशनका क्रियाशील सदस्यबाट अधिवेशन गर्ने गरी नयाँ क्रियाशील सदस्यता स्थगन गरिएको छ ।
कैलालीमा राप्रपाबाट कांग्रेसमा आएकाहरुको विषयमा पनि विवाद थियो । राप्रपाबाट कांग्रेस प्रवेश गरेका आमन्त्रित केन्द्रीय सदस्य आशाराम चौधरीलाई १२५ सदस्य दिइएको चौधरीले बताए । ६४ जिल्लामा अधिवेशन प्रक्रिया सुरु भइसक्दा पनि १३ जिल्ला अधिवेशन रोकिएको छ । शनिबारमा महोत्तरी, सिरहा, डोल्पा, सुर्खेत र बाँकेको क्रियाशील सदस्यको सूची सार्वजनिक गरिएको छ । अब पर्सा, बारा, रौतहट, सप्तरी र रसुवाको क्रियाशील सदस्यको सूची सार्वजनिक हुन बाँकी छ ।
सोमबार नेतात्रय कृष्णप्रसाद सिटौला, मिनेन्द्र रिजाल र रमेश लेखकबीच भएको छलफलबाट सैद्धान्तिक सहमति भएको छ ।

