यी पाँच जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक हुन बाँकी

नेपाली काँग्रेसले १४औँ महाधिवेशनका लागि थप तीन जिल्लाका क्रियाशील सदस्यताको अन्तिम नामावली सूची सार्वजनिक गरेसँगै अब पाँच जिल्लाको मात्रै क्रियाशील सदस्यता सार्वजनिक हुन बाँकी छ । पार्टीले मङ्गलवार धनुषा, सर्लाही र कैलालीको क्रियाशील सदस्यताको अन्तिम नामावली सार्वजनिक गरेको केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले जानकारी दिए।

मंगलबार तीन जिल्लाका क्रियाशील सदस्यताको नामावली सार्वजनिक भएपछि ७२ जिल्लामा क्रियाशील सदस्यता विवाद टुंगिएको हो । अब रसुवा, सप्तरी, रौतहट, बारा र पर्साको क्रियाशील सदस्यता नामावली सार्वजनिक गर्न बाँकी छ । काँग्रेसले यसअघि क्रियाशील सदस्यताको विवरण सार्वजनिक भएका जिल्लामा वडा अधिवेशन सम्पन्न गरी ती जिल्लामा गत शनिवार देखी गाउँ-नगर अधिवेशन प्रारम्भ गरिसकेको छ ।



हालसम्म १२ जिल्लामा वडा अधिवेशन गर्न बाँकी रहेको र ती सबै जिल्लाको क्रियाशील सदस्यताको सूची प्राप्त हुनासाथ एकै दिन वडा अधिवेशन प्रारम्भ गरिने उनले बताए । करिब नौ लाखको सङ्ख्यामा रहेका कांग्रेस क्रियाशील सदस्य पार्टीको वडा अधिवेशनका मतदाता हुन् । क्रियाशील सदस्यले आफने वडाको वडा समिति र क्षेत्रीय प्रतिनिधि चयन गर्छन् ।

काँग्रेसले क्रियाशील सदस्यताको बाँकी विवाद चाँडै टुङ्ग्याएर दशैँअघिसम्म सबै जिल्लामा पालिका स्तरको अधिवेशन सम्पन्न गर्ने र हिमाली जिल्लामा भने पूर्वनिर्धारित कार्य तालिकाअनुसार जिल्ला अधिवेशनसम्मका सबै अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ ।

पार्टीले यसअघि नै गाउँ-नगरपालिका अधिवेशन यही असोज ९ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन असोज १२ गते र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन-एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १५ गते निर्धारण गरेको थियो । त्यस्तै एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १८ गते, प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म तय गरिएको छ ।

सम्बन्धित समाचार