नवकान्तिपुर संवाददाता
काठमाडौं, १३ असोज ।

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपाल अस्वस्थ भएपछि मन्त्रिमण्डल विस्तारमा ढिलो हुने देखिएको छ । अध्यक्ष नेपाललाई रुघा, खोकी र ज्वरो आएको एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधरले जानकारी दिए ।
कोरोनासँग मिल्दोजुल्दो लक्षण भएपनि उनको पीसीआर परीक्षण भने नेगेटिभ आएको छ । आफू अस्वस्थ भएपछि अध्यक्ष नेपालले मन्त्रालयको भागवण्डा, मन्त्रीको नाम लगायतका विषयमा छलफल गर्न तीन नेतालाई जिम्मा दिएका छन् । महासचिव वेदुराम भुसाल, नेताहरु राजेन्द्र पाण्डे र विजय पौडेललाई अध्यक्ष नेपालले जिम्मेवारी दिएका हुन् ।
तीन नेताहरु आज (बुधबार) माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लाई भेट्न खुमलटार पुगेका थिए । भेटमा मन्त्रालयको भागवण्डा तथा मन्त्रीको नामावलीका विषयमा छलफल भएको एक स्रोतले बताएको छ । केहीबेरको भेटघाटपछि नेकपा समाजवादीका नेताहरु फर्किएका थिए ।
नेताहरुसँगको छलफल पछि प्रचण्ड प्रधानमन्त्री शेरबहादुर देउवा भेट्न बालुवाटार गएका थिए । प्रचण्ड प्रधानमन्त्री देउवासँग मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न बालुवाटार पुगेका हुन् । आज माओवादी केन्द्रको स्थायी समिति बैठक बोलाइएको र उक्त बैठकले मन्त्री बन्नेहरुको नाम टुंगो लगाउने तयारी गरेको बेला प्रचण्ड प्रधानमन्त्रीलाई भेटन् पुगेको बताइएको छ।

