सर्वदलीय बैठकले गर्यो यस्तो निर्णय

प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्मा देखिएको गतिरोध अन्त्य गर्ने विषयमा आह्वान गरेको सर्वदलीय बैठक सम्पन्न भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज (बिहीबार) विहान १०:३० बजेबाट बैठक सुरु भएको थियो । बैठकले संघीय संसदलाई निर्वाध र मर्यादित ढंगले सञ्चालन गर्नुपर्ने निर्णय गरेको छ ।

सर्वदलीय बैठकमा संसदमा जारी गतिरोध अन्त्य लगायतका समसामयिक विषयमा छलफल भएको थियो । बैठकले संसदलाई मर्यादित र निर्वाद चलाउन प्रमुख प्रतिपक्षी दल एमालेबाट सकारात्मक सहयाेग मिल्ने विषयमा छलफल भएकाे सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले बताए ।



नेता ज्ञानेन्द्र कार्कीले भने, ‘उहाँहरूसँग सम्वाद र वार्ता गर्नका निमित्त यो भन्दा अघि सभामुखले पनि यस्तै किसिमको सर्वदलीय बैठकको आयोजना गर्नुभयो, त्यहाँ पनि अनुपस्थित हुनुभयो । यसले गर्दा उहाँहरु संवाद र वार्ताबाट भाग्न खोजेको देखियो । जुन कुरा अहिले मुलुकको आवश्यकताभन्दा भिन्न छ ।’

त्यस्तै बैठकमा सहभागी नेताहरुले प्रमुख विपक्षी नेकपा एमाले सम्वाद र वार्ताबाट भाग्न खोजेको आरोप लगाए । उनीहरुले केपी शर्मा ओलीलाई वार्ताबाट समस्या समाधान गर्दै संसदलाई मर्यादित र निर्वाद चलाउन आग्रह समेत गरे । सर्वदलीय बैठक प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बहिस्कार गरेको थियो । बैठकमा एमालेबाट कुनै प्रतिनिधि सहभागी भएका थिएनन्। यस्तै बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को पनि उपस्थिति रहेको थिएन ।

बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र ) का संसदीय दलका नेता पुष्पकमल दाहाल नेता नारायणकाजी श्रेष्ठ नेकपा (एकीकृत समाजवादी) का राजेन्द्र श्रेष्ठ र महेन्द्रराय यादव, जनता समाजवादी पार्टी (जसपा) संसदीय दलका नेता उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो जनमोर्चाका दुर्गा पौडेल, नेपाल मजदूर किसान पार्टी (नेमकिपा) का प्रेम सुवाल र कानुन न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्की सहभागी छन् ।

संसद्को चालु अधिवेशन सुरु भएदेखि नै प्रमुख प्रतिपक्षी दल एमालेको अवरोधका कारण संसद् बैठक प्रभावित हुँदै आएको छ । एमालेले आफ्नो पार्टीले कारबाही गरेका सांसदलाई संसद् बैठकमा सहभागी हुन निषेधको माग गर्दै लगातार संसद्मा नाराबाजी गर्दै आएको छ ।

सम्बन्धित समाचार