नवकान्तिपुर संवाददाता
काठमाडौं, १४ असोज ।
चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत आज (बिहीबार) भएको पहिलो खेलमा चितवन टाइगर्स विजयी भएको छ । आज भएको खेलमा काठमाडौं किङ्स-११ चितवनसँग ३ विकेटले पराजित हुन पुग्यो ।
टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै १४१ रन बनाएको थियो । काठमाडौंका लागि सुवास खकुरेलले ३५ रन बनाए भने राजु रिजाल २८ रन बनाई आउट भए । त्यस्तै जनक प्रकाशले २६ रन जोडे भने सिद्धान्त लोहनी ८ र सन्दीप लामिछाने ७ रनमा अविजित रहे । चितवनको लागि सागर ढकालले ४ विकेट लिए भने करिम जनतको भागमा २ विकेट रह्यो । यस्तै कमल ऐरी र सेकुगे प्रसन्नले समान १-१ विकेट लिए ।
१४२ रनको लक्ष्य लिएर मैदान उत्रेको चितवनले १८.४ ओभरमा ७ विकेट गुमाउदै पूरा गर्यो । चितवनको लागि राजेश पुलामीले अविजित रहदै सर्वाधिक २६ रन बनाए भने कमल सिंह ऐरी २३ रनमा नट आउट रहे । यस्तै दिलिप नाथले २३ रन जोडे करिम जनत २१ रन बनाए ।काठमाडौंका लागि जितेन्द्र मुखिया र रायन बर्लले समान २-२ विकेट लिए भने जनक प्रकाश, सन्दीप लामिछाने र गुलशन झाको भागमा समान १-१ विकेट रह्यो ।
दोस्रो जित निकालेको चितवन २ खेलमा ४ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा उक्लेको छ भने २ खेलमा २ अंक जोडेको काठमाडौं चौंथो स्थानमा रहेको छ । काठमाडौंले पहिलो खेलमा ललितपुर प्याट्रीयट्सलाई हराएको थियो ।