नवकान्तिपुर संवाददाता
काठमाडौं, १४ असाेज ।

सरकारले सहसचिव गोपालप्रसाद सिग्देललाई राजपत्राङ्कित विशिष्ट श्रेणीमा बढुवा गर्ने निर्णय गरेको छ। आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव प्रा गोपालप्रसाद सिग्देललाई राजपत्राङ्कित विशिष्ट श्रेणीमा बढुवा गर्ने निर्णय गरेको हो।
मन्त्रिपरिषद्को बैठकपछि कानुन न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषद्को बैठकले जेनेभामा आयोजना हुने डब्ल्यूटिओको १२ औँ मन्त्रिस्तरीय सम्मेलनमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई भाग लिन स्वीकृति दिने निर्णय समेत गरेको बताए।
उनले सरकारले इन्टरपोलको ८९ औँ महासभामा भाग लिन स्वीकृति दिने निर्णय गरेको समेत जानकारी दिए। यसैगरी बैठकले विभिन्न मन्त्रालयअन्तर्गतका विकास आयोजनाका लागि अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ।
बैठकले संसद्को जारी अधिवेशन अन्त्य गर्ने तयारी गरेको भएपनि त्यससम्त्रन्धी कुनै निर्णय मन्त्री कार्कीले सुनाएनन् ।

