नवकान्तिपुर संवाददाता
काठमाडौं, १४ असाेज ।

नेकपा एमालेका स्थायी कमिटी सदस्य रामबहादुर थापा बादलको वरीयता घटेको छ । बादलको मर्यादाक्रम उपाध्यक्ष अष्टलक्ष्मी शाक्यभन्दा तल पारिएको छ । प्रदेशको इन्चार्ज समेत रहेका बादल विहीबार गठित बागमती प्रदेश अधिवेशन आयोजक कमिटीमा शाक्यभन्दा तल परेका छन् ।
पार्टीले प्रदेश इञ्चार्ज बादललाई शाक्यभन्दा तलको वरीयतामा राखिएको हो । ४ सय ७७ सदस्यीय बागमती प्रदेश महाधिवेशन आयोजक कमिटीमा बादल इञ्चार्जसहित दोस्रो वरियतामा रहँदा शाक्यलाई सबैभन्दा माथि राखिएको छ ।
अध्यक्ष र सचिवको जिम्मेवारी क्रमशः आनन्द पोखरेल र खेम लोहनीलाई दिइएको छ । एमालेमा १० बुँदे सहमति कार्यान्वयन हुँदा प्रदेशको इञ्चार्ज शाक्य हुनुपर्ने हो । तर, बादललाई इञ्चार्ज यथावत राख्न शाक्यलाई उपल्लो वरीयतामा राखिएको बताइएको छ । पूर्वमाओवादी नेता बादल सर्वोच्चले पार्टी यथाबत गर्ने फैसला गरेपछि एमालेमा बसेका थिए ।

