नवकान्तिपुर संवाददाता
काठमाडौं, १५ असाेज ।

बागमती प्रदेशमा एकल बहुमत रहेको नेकपा एमाले विभाजित भएपछि अल्पमतमा परेको छ । प्रदेश सरकारले असोज २५ गते विश्वासको मत लिने भएको छ। नेकपा एमालेका १३ प्रदेशसभा सदस्य माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)मा लागेपछि मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिन लागेकी हन्। विश्वासको मत नपाउने अवस्था भए पनि आफू सामना गर्न तयार रहेको उनले बताइन्।
५६ सांसद सहित एकल बहुमत रहेको एमाले प्रदेश सभा संसदीय दलको नेताका रूपमा २ भदौमा उनी मुख्यमन्त्री नियुक्त भएकी थिइन्। एमाले फुटेपछि ११० सदस्यीय प्रदेश सभामा बहुमतका लागि आवश्यक सांसद संख्या नभएपछि शाक्यले विश्वासको मत लिनुपरेको हो । यससँगै दसैं अगाडि नै उनको पद गुम्ने निश्चित छ ।
यता विपक्षी गठबन्धनले अझै मुख्यमन्त्री टुंग्याउन सकेको छैन। एकीकृत समाजवादीले प्रदेशमा औपचारिक मान्यता पाउँदासम्म सरकारको नेतृत्व गठबन्धनबाट कसले गर्ने भन्ने विषय टुंगो लागेको छैन। नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादीले वाग्मती प्रदेशको सरकार आफनो दलले नेतृत्व गर्ने भनेर बताउँदै आएका छन्। नेतृत्वबारे टुंगो लगाउन नसक्दा गठबन्धनभित्रै असमझदारी उत्पन्न भएको छ।
नेकपा एकीकृत समाजवादी वाग्मती प्रदेशका दलका सचेतक मुनु सिग्देलले वाग्मती प्रदेशको सरकारको नेतृत्व नेकपा एकीकृत समाजवादीले नै गर्ने बताईन्। उनले प्रदेशमा जसले दाबी गरेपनि केन्द्रमा गठबन्धनले गरेको निर्णय हुने हुँदा बागमती प्रदेश सरकारको नेतृत्व नेकपा एकीकृत समाजवादीले गर्ने उनको जिकिर छ।
नेपाली काँग्रेस बागमती प्रदेशका प्रवक्ता प्रभाव तामाङले वाग्मती प्रदेश सरकारको नेतृत्व लगभग टुंगो लागिसकेको बताए। उनले नेपाली काँग्रेसले अढाई महिना सरकार चलाउन दिन एकीकृत समाजवादीलाई गरिएको प्रस्ताव झुटो भएको समेत बताए।

