ललितपुरको पहिलो जित

चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत आज (शुक्रबार) भएको पहिलो खेलमा ललितपुर प्याट्रीयट्स विजयी भएको छ । आज भएको खेलमा विराटनगर वारियर्स ललितपुरसँग ३७ रनले पराजित हुन पुग्यो । ईपीएलमा ललितपुरको यो पहिलो जित हो ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २२६ रन बनाएको हो । ललितपुरका लागि सन्दुन वीराक्कोडीले ७३ रन बनाए भने अजमतुल्लाह ओमरजाई ५८ रनमा अविजित रहे । त्यस्तै कुशल भुर्तेल ३२ रन बनाई आउट भए भने योगेन्द्र सिंह कार्कीले २७ रन जोडे । विराटनगरका लागि करण केसीले २ विकेट लिए भने सिकन्दर राजा, प्रतिश जिसी र दिलशान मुनाविराको भागमा समान १-१ विकेट रह्यो ।



ललितपुरको पहिलो जित

२२७ रनको विशाल लक्ष्य लिएर मैदान उत्रेको विराटनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १८९ रन मात्र बनाउन सक्यो ।विराटनगरका लागि दिल्शन मुनाविराले ५९ रनको अर्धशतकीय पारी खेले भने आसिफ शेखले ३७ रन बनाए । त्यस्तै चन्द्रपउल हेमराजले २८ रन बनाई आउट भए भने सिकन्दर राजाले २४ रन जोडे । ललितपुरका लागि अजमतुल्लाह ओमारजाईले ४ विकेट लिए भने ललित राजवंशीले २ तथा योगेन्द्र सिंह कार्कीको भागमा १ विकेट रह्यो ।

ललितपुरले बनाएको यो स्कोर ईपीएल इतिहासकै सर्वाधिक ठूलो स्कोर हो । यस अघि २०१८ मा भैरहवा ग्लाडीयटर्सले पोखरा राइनोजविरुद्ध बनाएको २ सय १६ रन सर्वाधिक उच्च स्कोर रहेको थियो । जितसँगै ललितपुर ४ खेलमा ३ अंक जोड्दै चौंथो स्थानमा उक्लिएको छ भने अंक जोड्न नसकेको विराटनगर पुछारमा रहेको छ।

सम्बन्धित समाचार