नवकान्तिपुर संवाददाता
काठमाडौं, १७ असोज ।
चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत आज (आइतबार) भएको दोस्रो खेलमा चितवन टाइगर्स विजयी भएको छ । आज भएको खेलमा ललितपुर प्याट्रीयट्स चितवनसँग ५ विकेटले पराजित हुन पुग्यो ।
टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको ललितपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउदै १०८ रन बनायो । ललितपुरका लागि जयकिशन कोल्सावालाले ४२ रन बनाए भने सन्दुन विराकोड्डीले १४ रन जोडे । त्यस्तै सुर्य तामाङ ११ र ललित राजवंशीले ९ रनमा अविजित रहे । चितवनका लागि कमल सिंह ऐरीले ३ विकेट लिए भने करिम जनत र सागर ढकालको भागमा समान २-२ विकेट रह्यो । यस्तै शाहब आलमले १ विकेट लिए ।
१०९ रनको लक्ष्य लिएर मैदान उत्रेको चितवनले १७.२ ओभरमा ५ विकेट गुमाउदै पूरा गर्यो । चितवनको लागि मोहम्मस सेहेजादले ३५ रन बनाए भने भिम शार्कीले २७ रन जोडे । त्यस्तै दिलिप नाथ १६ र राजेश पुलामी ६ रनमा अविजित रहे । ललितपुरका लागि अज्मातुल्लाहा ओमरजाई र रिजन ढकालले समान २-२ विकेट लिए भने योगेन्द्र सिंह कार्कीको भागमा १ विकेट रह्यो ।
जितसँगै चितवन ४ खेलमा ८ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ भने ४ खेलमा ३ अंक जोडेको ललितपुर चौथौं स्थानमा रहेको छ ।