नवकान्तिपुर संवाददाता
काठमाडौं, १७ असाेज ।
अब नेपालमा पनि बजारशास्त्रीहरू संस्थागत रूपमा सङ्गठित हुने भएका छन् । विदेशमा बजारशास्त्रीहरू सङ्गठित हुने परम्परा पुरानो भइसकेको भए पनि नेपालमा भने पहिलोपल्ट यस्तो प्रयास भएको हो । गत शुक्रबार काठमाडौंमा आयोजित बजारशास्त्रीहरूको भेलाले यस कुराको जानकारी गराएको हो । भेलाले देशभरि छरिएर रहेका बजारशास्त्रीहरू ‘नेपाली बजारशास्त्र संघ’ को नाममा गोलबद्ध हुने निर्णय गरेको हो ।
नेपाली बजारशास्त्र संघ स्थापनाको तयारीको लागि डा गोपाल थापाको संयोजत्वमा प्रोफेसर डा. तुल्सी धरेल, उप–प्राध्यापक सुशील अवाले, सुरेन्द्र थापा, नेपाल विज्ञापन संघका पूर्व अध्यक्ष सन्तोष श्रेष्ठ, विज्ञापन क्लबका सुजनराजा श्रेष्ठ, नुश्रत जहाँ, राजेन्द्र महर्जन, श्यामकुमार थापा, सतेन्द्र उप्रेती, नरेन्द्रविक्रम विष्ट, पुष्कर शर्मा, मनीषा लुइटेलसहितको एक तयारी समिति पनि गठन गरिको छ ।
भेलामा क्यानडामा प्राध्यापनरत क्यानेडेली मार्केटिङ एसोशिएसनका सदस्य चार्टड मार्केटर प्रोफेसर डा. तुल्सी धरेल तथा त्रिविका सह–प्रध्यापक तथा नेपाल कमर्स क्यामपसका विविए कार्यक्रम निर्देशक डा. गोपाल थापाले कार्यपत्रहरू प्रस्तुत गरेका थिए ।
नेपालको उच्च शिक्षा र व्यवसायिक क्षेत्रकाबीच समन्वय कायम गरी उच्च शिक्षाको विकास गर्ने, व्यवसायिक क्षेत्रको बजारीकरण सम्बन्धी आवश्यकता परिपूर्ति गर्ने, नेपाली बजारशास्त्रीहरुको विश्वसनीयता अभिवृद्धि गर्ने, नेपालले अन्तर्राष्ट्रिय मापदण्डमा स्थापित हुने वजारीकरण क्षेत्रप्रति आकर्षण अभिवृद्धि गर्ने आदि उद्देश्यले संघ स्थापना हुन लागेको जनाइएको छ ।
भेलामा नेपाल विज्ञापन संघका पूर्व अध्यक्ष सन्तोष श्रेष्ठ, बैंकिङ फाइनान्सियल इन्स्टिट्युसन नेपालका कार्यकारी निर्देशक डा. विनोद यात्रेय, नेपाल चार्टड एकाउन्टेन्ट संस्थाका पूर्व सभापति चार्टड एकाउन्टेन्ट हरि सिल्वाल, विज्ञापन क्लबका सुजनराजा श्रेष्ठ, इन्डियन हर्वका नेपाल, श्रीलङ्का, म्यानमारका विजनेस हेड पुरुषेत्तम राई, शङ्करदेव क्याम्पसका सहायक क्याम्पस प्रमुख मीखा श्रेष्ठ, पद्यमकन्या क्याम्पसका निर्देशक नीरा श्रेष्ठलगायतले आ–आफ्नो धारण राखेका थिए ।