नवकान्तिपुर संवाददाता
काठमाडौं, २० असोज ।
चितवन टाइगर्स चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेट को फाइनलमा प्रवेश गरेको छ । आज(बुधबार) भएको पहिलो क्वालिफायरमा पोखरा राइनोज चितवनसँग ९ विकेटको फराकिलो अन्तरले पराजित हुन पुग्यो ।
चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटमा माथि शानदार जित निकाल्दै फाइनलमा प्रवेश गरेको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखरा १५ ओभरमा ६६ रनमा समेटिएको थियो । पोखराका लागि रिचार्ड लेभीले १९ रन बनाए भने सुनिल धमलाले १८ र सुशन भारीले १२ रन बनाउनु बाहेक अन्यले दोहोरो अंक छुन सकेनन् । चितवनका लागि सागर ढकाल र शाहब आलमले समान ४-४ विकेट लिए भने सोमपाल कामी र करिम जनतको भागमा समान १-१ विकेट रह्यो ।
६७ रनको झिनो लक्ष्य लिएर मैदान उत्रेको चितवनले ७.५ ओभरमा १ विकेट गुमाउदै पूरा गर्यो । चितवनको लागि मोहमद साहजदले ४८ रन बनाए भने हसिम अन्सारीले १४ र करिम जनत ४ रनमा अविजित रहे । पोखराका लागि नन्दन यादवले १ विकेट लिए ।
अब चितवनले फाइनलमा दोस्रो क्वालिफायरको विजेतासँग खेल्नेछ । पोखराले भने फाइनल प्रवेशका लागि एलिमिनेटरको विजेतासँग खेल्नेछ । एलिमिनेटरमा काठमाडौं किङ्स-११ र भैरहवा ग्लाडीयटर्स आजै खेल्दै छन् ।