नवकान्तिपुर संवाददाता
काठमाडौं, २५ असाेज ।
अघिल्ला दुई खेलमा सानदार जित निकालेको नेपाल पुरुष साफ च्याम्पियनसिप फुटबलको तेस्रो खेलमा भने भारतसँग पराजित भएको छ । माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा भएको तेस्रो खेलमा नेपाल भारतसँग १–० गोल अन्तरले पराजित भएको हो ।
भारतको जितमा कप्तान सुनिल क्षेत्रीले निर्णायक गोल गरे । कप्तान सुनिल क्षेत्रीले खेलको ८३ मिनेटमा गोल गरेका थिए । फारुख चौधरीले सिक्स यार्ड बक्सबाट मिलाएको हेडिङ पासलाई सिक्स यार्ड बक्समा अनमार्क रहेका क्षेत्रीले वान टचमा गोल गरेका हुन् ।
जितसँगै भारत उपाधि होडमा यथावत रहेको छ । यदि नेपालविरुद्धको बराबर तथा हारले भारत प्रतियोगिताबाट बाहिरिने अवस्थामा पुगेको थियो । भारतविरुद्ध नेपालले रक्षात्मक खेल खेल्दै काउण्टरमा ध्यान दिएको थियो । पहिलो हाफमा भारतले नेपाललाई पुर्ण रुपमा दबाबमा राखेपनि गोल भने गर्न सकेको थिए ।
दोस्रो हाफमा समेत दबाब बनाएको भारत गोल गर्न सफल रहेको थियो । यस अघि भारतले केहि राम्रो अवसर बनाएपनि गोल गर्न भने सफल भएन ।
यसअघि उद्घाटन खेलमा माल्दिभ्सविरुद्ध निर्णायक गोल गरेका मनिषलाई प्रशिक्षक अब्दुल्लाहले स्ट्राइकरको भुमिका दिएका हुन् । अघिल्ला दुबै खेलमा मनिषले बैकल्पिक खेलाडीको रुपमा खेलेका थिए । नेपाल भारतलाई पराजित गर्दै पहिलो पटक साफ फाइनलमा पुग्ने दाउमा थियो ।
हारसँगै नेपालले अन्तिम खेलमा बंगलादेशसँग फाइनल प्रवेशका लागि खेल्नेछ । जुन खेल नेपालको लागि निकैनै महत्वपूर्ण हुनेछ । जितले नेपाल फाइनल पुग्नेछ भने हारले प्रतियोगिताबाट बाहिरिनेछ । साफमा पहिलो हारसँगै नेपालको ३ खेलबाट ६ अंक रहेको छ । नेपाल अंक बराबर भएपनि दोस्रो स्थानमा रहेको छ । पहिलो स्थानमा माल्दिभ्स छ । यस्तै प्रतियोगितामा पहिलो जित निकालेको भारत ३ खेलबाट ५ अंक सहित तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । एक खेल बाकी रहँदा भारतको समेत फाइनल पुग्ने सम्भावना बाकी रहेको छ ।