नवकान्तिपुर संवाददाता
काठमाडौं, २५ असोज ।

पोखराबाट घान्द्रुक जाँदै गरेको जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । पोखराको हरिचोकबाट घान्द्रुक जाँदै गरेको ग १ ज ६९०० नम्बरको बोलेरो जिप अन्नपूर्ण–१० स्थित कलाभीर भन्ने ठाउँमा दुर्घटना भएको हो ।
चालकसहित १० यात्रु सवार रहेकोमा ८ जनाको मृत्यु भएको र एकजनाको जीवितै उद्धार गरिएको प्रहरीले जनाएको छ । अहिले घटनास्थलमा स्थानीय र प्रहरीले उद्धार गरिरहेको जिल्ला प्रहरी कार्यालय कास्की प्रहरी प्रमुख एसपी रमेश थापाले जानकारी दिए । जिप घान्द्रुकको कलाभीर भन्ने ठाउँबाट मोदी खोलामा खसेको प्रत्यक्षदर्शीले बताएका छन् ।
मृतकको पहिचान हुन सकेको छैन । दसैँको छुट्टीमा पदयात्रामा हिँडेकाहरू दुर्घटना परेको हुने सक्ने प्रहरीले जनाएको छ ।घाइते एक जनाको उद्धार गरी अस्पताल ल्याउँदै गरेको प्रहरीले जनाएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
