मोतीपुर घटनाको मुख्य दोषी ओली नेतृत्वको सरकार : विद्यार्थी संगठन

दोषीलाई कारबाही गर्न माग

रुपन्देहीको मोतीपुर क्षेत्रमा बसोबास गरिरहेका सकुम्बासी समस्या समाधान गर्न तीन विद्यार्थी संगठनले माग गरेका छन् । नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी(जसपा) निकटका विद्यार्थी संगठनले घटनाका दोषीलाई कारबाही गर्न पनि माग गरेका हुन् ।

माओवादी केन्द्रनिकट अनेरास्ववियू (क्रान्तिकारी)की अध्यक्ष पञ्चा सिंह, एकीकृत समाजवादी निकट (अनेरास्ववियू) अध्यक्ष सुदेश पराजुली र जसपा निकटको समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठले संयुक्त विज्ञप्ति जारी गर्दै मोतिपुर घटनाको छानबिन गर्न समेत माग गरेका छन् ।



त्यस्तै सत्तारूढनिकट तीन विद्यार्थी संगठनले मोतीपुर औद्योगिक क्षेत्रमा भएको घटनाको दोषी तत्कालिन केपी ओली नेतृत्वको सरकार भएको निष्कर्ष निकालेको छ । उनीहरुले मोतीपुर घटनाका मुख्य दोषीलगायत सम्पूर्णलाई उचित छानबिन गरी कडाभन्दा कडा कारबाही, मृतकलाई उचित क्षतिपूर्ति र घाइतेहरुको निःशुल्क उपचार गर्न समेत माग गरेका छन् ।

गत आइतबार रूपन्देही मोतीपुरको औद्योगिक क्षेत्रमा सुकुम्बासी र प्रहरीबीच झडप भएको थियो । झडप हुँदा प्रहरीको गोली लागेर चार जनाले ज्यान गुमाएका थिए ।

सम्बन्धित समाचार