नवकान्तिपुर संवाददाता
काठमाडौं, २६ असोज ।

मुगुमा बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या २८ पुगेको छ । नेपालगञ्जबाट मुगुको सदरमुकाम गमगढी जाँदै गरेको भे १ ख ३१६७ नम्बरको बस दुर्घटनामा परेको थियो ।
दुर्घटनामा हालसम्म २८ जनाको मृत्यु भएको र १४ जना घाइते भएको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिए । बस दिउँसो १ बजे छायाँनाथ रारा नगरपालिका–७ पिनाटपने खोलामा दुर्घटना भएको हो । १४ जना घाइतेलाई हेलिकप्टरमार्फत मुगुको जिल्ला अस्पताल, नेपालगन्जलगायतका स्थानका अस्पतालमा उपचारका लागि पठाइएको छ ।
बस सडकबाट झन्डै ३ सय मिटर तल खसेको थियो । दुर्घटनामा मृत्तकको सङ्ख्या अझै बढ्न सक्ने उनकाे भनाइ छ । अहिले घटनास्थलमा नेपाल आर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयहरुको सहयोगमा उद्धारकार्य जारी रहेको छ ।
