देशभर मौसममा सुधार, पानी पार्ने प्रणाली बाहिरियो

नेपालमा पानी पार्ने प्रणाली पूर्वी भेगबाट बाहिरिएसँगै मुलुकभर मौसममा सुधार आएको छ। आज बिहानै काठमाडौँ उपत्यकालगायत अधिकांश क्षेत्रमा घाम लागेको छ। वरिष्ठ मौसमविद् बरुण पौडेलका अनुसार अबको चाररपाँच दिनयता अर्को प्रणाली विकसित हुने देखिएको छैन।

भारतको विहारमा रहेका न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले असोज ३१ देखि कात्तिक ३ गतेसम्म नै भारी वर्षा गराएको थियो। हाल उक्त प्रणाली बाहिरिए पनि सामान्य प्रभाव भने नेपालमा रहेको छ। ‘त्यस्ता प्रणालीले जलवाष्प र चिसो छाडेको हुन्छ, त्यसैले कतै बादल त कतै कुहिरो देखिन्छ। कतैकतै छिटफुट वर्षाको सम्भावना पनि रहन्छ,’ उनले भने।



त्यसले ठूलो प्रभाव भने नगर्ने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १ र बागमती प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षा भएको छ।

देशभर आंशिकदेखि सामान्य बदली रहने छ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश १ र गण्डकी प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

सम्बन्धित समाचार