नेपाल बारले गर्यो यस्तो निर्णय

आन्दोलनरत नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग वार्तामा नबस्ने निर्णय गरेको छ । आज बैठक बस्दै बारले प्रधानन्यायाधीशसँग वार्तामा नबस्ने निर्णय गरेको हो ।

बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीशले न्यायपालिकाको ‘गरिमा राख्न नसकेको’ बताउँदै राजीनामा मात्र विकल्प रहेको बताए । उनले भने ‘तपाईंसँग वार्ता गरेर न्यायालयको विकृति विसंगतिमा सुधार हुँदैन, त्यसैले हामी तपाईंसँग कुनै किसिमको वार्ता गर्न तयार छैनौँ आजै राजीनामा दिएर निकास दिनुस् ।’



यसअघि आन्दोलनरत नेपाल बार एसोसिएसनका कानुन व्यवसायी र न्यायाधीशहरुलाई प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले वार्ताका लागि आह्वान गरेका थिए । आज एक विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीश जबराले वार्ताका लागि आह्वान गरेका हुन् । तर, कानुन व्यवसायीहरुले प्रधानन्यायाधीश जबरालाई सर्वोच्च अदालत प्रवेश गर्न नदिने भन्दै सर्वोच्चमा प्रदर्शन गरिरहेका छन् । कानुन व्यवसायीले न्यायालयको शुद्धीकरणका लागि प्रधानन्यायाधीश जबराको राजीनामालाई पहिलो सर्त बनाएका छन् ।

प्रधान्यायाधीशले सरकार र संवैधानिक निकायमा भागबन्डा मागेको, अदालतमा अनियमितता, विसंगति र विचौलिया रोक्ने उपायस्वरूप न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले पेसी तोक्दा गोलाप्रथा लागू गर्ने सुझाव कार्यान्वयन नगरेको भन्दै नेपाल बारले उनको राजीनामा माग्दै आन्दोलन गरिरहेको छ ।

यो पनि पढ्नुस :

प्रधानन्यायाधीशले गरे यस्तो आह्वान (विज्ञप्तिसहित)

सम्बन्धित समाचार