एमाले महासचिव बन्न तीन नेताको दौडधुप, कसले मार्ला बाजी ?

नेकपा एमालेले मंसिर १० देखि १२ गतेसम्म महाधिवेशन गर्न गैरहेको छ, जसका लागि अधिकांश क्षेत्रबाट महाधिवेशन प्रतिनिधिको छनौट गरिसकिएको छ । पार्टीभित्र नीति र मूल नेतृत्वलाई लिएर कुनै विवाद नभएकोले महाधिवेशन सहमतिमै सम्पन्न हुने नेताहरूले बताइरहेका छन् । अर्थत् पार्टी अध्यक्षमा केपी ओलीलाई टक्कर दिने कोही नभएको र पार्टीमा ओलीले जसलाई जुन पदमा ल्याउन चाहेका छन्, त्यो पूरा हुने अवस्था भएकोले महाधिवेशनमा मतदान हुने सम्भावना ज्यादै न्यून देखिएको छ ।

महाधिवेशनले अध्यक्षसहित १५ पदाधिकारीको टुङ्गो लगाउने छ । अध्यक्षमा ओली निर्विकल्प देखिन्छन् । माधव नेपालको साथ छोडेर एमालेमै रहेका उपाध्यक्ष भीम रावल र उपमहासचिव घनश्याम भूषालले अध्यक्षमा उठ्ने दाबी गरे पनि उनीहरूको अडान महाधिवेशनसम्म टिक्ने देखिँदैन । यता अध्यक्ष ओलीले सहमतिमै पदाधिकारी छानिने बताइरहेकोले उनले चाहेका व्यक्तिहरू नै पदाधिकारीमा आउने निश्चित छ । तर एमाले विभाजनपछि ओलीको ‘यसमेन’ भएका केही नेताहरूको व्यवस्थापनमा भने ओलीको टाउको दुखाइको विषय बनेको छ ।



अघिल्लोे लेखमा वरिष्ठ उपाध्यक्षमा तीन नेताको दाबीसम्बन्धी रिपोर्ट पेश गरेका थियौं । यो आलेखमा महासचिवलाई लिएर एमालेमा भैरहेको शक्ति संघर्षलाई प्रस्तुत गर्दैछौं । कम्युनिष्ट पार्टीहरूमा महासचिव पद निकै प्रभावकारी मानिन्छ । महासचिव नै पछि गएर पार्टी अध्यक्ष बन्ने परम्पराले गर्दा पनि यसप्रति नेताहरूको आकर्षण बढ्दो छ ।

हालका महासचिव ईश्वर पोखरेल दुई कार्यकाल महासचिव भैसकेकोले संविधानतः उनको महासचिव बन्ने बाटो बन्द भएको छ । उनले वरिष्ठ उपाध्यक्षमा आँखा लगाइरहेका छन् । महासचिवमा एमाले नेताहरू विष्णु पौडेल, शंकर पोखरेल र सुरेन्द्र पाण्डेले अध्यक्ष ओलीसँग दाबी पेश गरिसकेका छन् । एमाले स्रोतका अनुसार उनीहरू तीनमध्ये एकलाई ओलीले महासचिव बनाउने सम्भावना प्रवल रहेको देखिएको छ ।

कसले मार्ला बाजी ?
विष्णु पौडेल- पछिललो समय ओलीको विश्वास पात्रको रूपमा लिइन्छ विष्णु पौडेललाई । एमाले र माओवादी केन्द्र एक भई बनेको नेकपामा पनि ओलीले अरू सिनियर नेतालाई पाखा लगाउँदै विष्णु पौडेललाई महासचिवको रूपमा जिम्मेवारी दिएका थिए । साथै पछिल्लो समय अर्थमन्त्री बन्दा उनले जनअपेक्षा पूरा हुनेगरी काम गर्न सकेको भन्दै ओली उनीप्रति थप सकारात्मक रहेको बताइन्छ । त्यसैले पनि ओलीले एमालेको महासचिवको रूपमा पौडेललाई नै अघि सार्ने सम्भावना प्रवल छ ।

शंकर पोखरेल- लुम्बिनी प्रदेशको मुख्यमन्त्री पद गुमेपछि शंकर पोखरेल ओलीसँग रूष्ट बनेका छन् । उनलाई फकाउन पनि ओलीले महासचिव बनाउने सम्भावना रहेको एमाले निकट नेताहरू बताउँछन् । साथै पछिल्लो समय नेकपा र एमालेमा देखिएको विवादमा ओलीलाई क्षति हुन नदिन उनले खेलेको भूमिकाको राजनीतिक वृत्तमा अहिले पनि चर्चा हुन्छ । त्यसैले पनि महासचिव बनेर पार्टी हाक्ने क्षमता उनमा देखिएको छ । त्यसैले पनि ओलीले महासचिवको रूपमा पोखरेललाई अघि सार्ने सम्भावना पनि उत्तिकै छ ।

सुरेन्द्र पाण्डे- अघिल्लो महाधिवेशनमा महासचिवमा ईश्वर पोखरेलसँग ६ मतले हारेका सुरेन्द्र पाण्डे यसपटक स्वाभाविक रूपमा महासचिवका दावेदार हुन् । पछिल्लो समय एमाले विभाजनपछि ओलीको ‘यसम्यान’ बनेका पाण्डेलाई ओलीले महासचिवको रूपमा अघि सार्ने सम्भावनालाई नकार्न सकिँदैन । साथै पार्टीमा फरक धारबाट आएकाहरूलाई पनि स्थान दिएको भान गराउनकै लागि भए पनि ओलीले पाण्डेलाई महासचिव बनाउने सम्भावना छ । यसरी समग्रमा हेर्दा महासचिवमा विष्णु पौडेलको सम्भावना ५० प्रतिशत, शंकर पोखरेलको सम्भावना ३० प्रतिशत र सुरेन्द्र पाण्डेको सम्भावना १० प्रतिशत र अन्यको सम्भावना १० प्रतिशत रहेको आँकलन गर्न सकिन्छ ।

वरिष्ठ उपाध्यक्षमा दाबी गरिरहेका रामबहादुर थापा र सुवास नेम्वाङलाई त्यहाँ व्यवस्थापन गर्न नसकेर महासचिवमा ल्याउने सम्भावनालाई पनि नकार्न सकिँदैन । साथै अध्यक्षमै दाबी गरिरहेका उपाध्यक्ष भीम रावल र घनश्याम भूषाललाई पनि ओलीले इमान्दारीपूर्वक व्यवस्थापन गर्न चाहेमा रावललाई वरिष्ठ उपाध्यक्ष र भूषाललाई महासचिवमा स्थान दिने सम्भावना पनि त्यत्तिकै छ । त्यसैले महासचिवमा पौडेल, पोखरेल र पाण्डेबाहेकका व्यक्तिहरू आउन सक्ने सम्भावना पनि १० प्रतिशत रहेको अनुमान लगाउन सकिन्छ ।।

सम्बन्धित समाचार