काँग्रेसको चुनावी अपडेट : नुवाकोटमा दुई समूहबीच कडा प्रतिस्पर्धा हुने

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत अहिले धमाधम तल्लो तहका अधिवेशनहरू भइरहेका छन् । मंसिर ३ गते क्षेत्रीय अधिवेशन गर्न लागेको कांग्रेसले मंसिर १० मा जिल्ला अधिवेशन गर्न लागेको छ । नेपाली कांग्रेस निर्वाचन समितिका अनुसार मंसिर १० गते एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्लाको अधिवेशन हुँदै छ र नुवाकोटमा पनि जिल्ला अधिवेशनको तयारी हुँदैछ ।

अधिवेशनको मिति नजिकिँदै गर्दा नुवाकोटमा चुनावी सरगर्मी बाक्लिएको छ । रोचक त के छ भने केन्द्रमा देउवा समूह र पौडेल समूहको प्रतिस्पर्धा हुँदैगर्दा नुवाकोटमा भने एउटै गुटका दुई समूहबीच तीव्र प्रतिस्पर्धा हुने देखिएको छ ।



अहिलेसम्म नुवाकोट कांग्रेसमा केसी परिवार एकातर्फ र अर्कोतर्फ रामशरण महत, प्रकाशशरण महत, बहादुरसिंह लामा रहेको चुनावी समीकरण बनेको देखिन्छ । विगतदेखि नै नुवाकोट काँग्रेसमा केसी परिवार र महत परिवारबीच प्रतिस्पर्धा हुँदै आएकोमा यस अधिवेशनमा पनि त्यसैले निरन्तरता पाउने देखिएको छ ।

कांग्रेसका नेताहरु अर्जुननरसिंह केसी र डा. रामशरण महत केन्द्रमा दुवै पौडेल खेमामा रहेका छन् । तर, नुवाकोटमा भने उनीहरूले दुई समूहबाट आफू निकटका उम्मेदवारलाई अघि सारेका छन् । जसअनुसार केसी समूहबाट केदारनरसिंह केसी उम्मेदवार हुने भएका छन् भने महत समूहबाट रमेशकुमार महत उम्मेदवार हुने भएका छन् ।

केदारनरसिंह केसीले आफूले जिल्ला सभापतिमा उम्मेद्वारी दिने तय भएको बताए । केसीको पक्षमा राम्रो माहोल रहेको भन्दै उनले अरू उम्मेदवार जो उठे पनि खासै अर्थ नरहेको बताए । तर रमेश महतले कुनै पनि हालतमा नेतृत्व नछाड्ने बताइएको छ भने दुवैले आ–आफ्नो पक्षमा माहोल बनाउन दौडधूपलाई तीव्र बनाएका छन् ।

हाल नुवाकोट काँग्रेसका सभापति जगदीश्वरनरसिंह केसी रहेका छन् । उनले लगातार दुई दशक जिल्लाको नेतृत्वमा रहेकोले उनले यसपटक नेतृत्व हस्तान्तरण गर्न लागेका हुन् । स्मरण रहोस्, अहिले उम्मेदवार बन्न लागेका केदारनरसिंह केसी अर्जुननरसिंह केसीका सहोदर भाइ हुन् ।

उसो त रमेश महत पनि डा रामशरण महतका भतिज हुन् । १३ औँ महाधिवेशनमा जनदीश्वर नरसिंहसँग जिल्ला सभापतिमा रमेश महत पराजित भएका थिए । नुवाकोटमा भाइ–भतिजाबीचको भिडन्त यसपटक पनि रोचक हुने बताइएको छ ।

केदारनरसिंह केसी आफैँमा चर्चित नाम हो । नेपाल चिकित्सिक संघका पूर्व अध्यक्ष उनी हाल प्रजातान्त्रिक विचार समाजको राष्ट्रिय अध्यक्ष रहेका छन् । विद्यार्थीकालदेखि नै काँंग्रेसको राजनीतिमा होमिएका उनी काँग्रेस सहमहामन्त्री प्रकाशशरण महतको समकक्षी नै हुन् । उनी यसअघि नुवाकोटबाट पटक–पटक महाधिवेशन प्रतिनिधि बनिसकेका छन् ।

सम्बन्धित समाचार