कांग्रेसले आजदेखि प्रदेश सभा क्षेत्रीय अधिवेशन गर्दै

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत शुक्रबारदेखि प्रदेश सभा क्षेत्रीय अधिवेशन सुरु हुँदैछ। महाधिवेशनअन्तर्गत वडा र पालिका अधिवेशन सम्पन्न भइसकेपछि कांग्रेसले प्रदेश सभा क्षेत्रीय अधिवेशन सुरु गर्न लागेको हो।

कांग्रेसले देशैभरका तीन सय ३० प्रदेश सभा निर्वाचन क्षेत्रमा शनिबारका लागि क्षेत्रीय अधिवेशनको कार्यतालिका निर्धारण गरेको छ। शनिबारका लागि प्रदेश सभा क्षेत्रीय अधिवेशन तालिका तय गरिएको भए पनि सोमबारसम्म अधिवेशन गरिसक्नुपर्ने हुन्छ।



कांग्रेसको महाधिवेशन कार्यतालिकाअनुसार मंसिर ६ गते संघीय निर्वाचन क्षेत्र अधिवेशन, मंसिर १० गते जिल्ला अधिवेशन र मंसिर १६ र १७ गते सात वटै प्रदेशको अधिवेशन हुनेछ। यस्तै मंसिर २४–२६ मा केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका छ।

कांग्रेसले शुक्रबार देशभरका प्रदेश सभा निर्वाचन क्षेत्रमा अधिवेशन गर्ने कार्यतालिका बनाए पनि सर्लाही, सिन्धुपाल्चोक र रसुवामा अधिवेशन नहुने भएको छ। तीन वटै जिल्लामा वडा र गाउँपालिका तहमा विवाद कायमै रहेका कारण प्रदेश सभा क्षेत्रीय अधिवेशन नहुने भएको हो।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिले विवादित जिल्लाबाहेक अन्य ठाउँमा शुक्रबार प्रदेश सभा क्षेत्रीय अधिवेशन हुने जनाएको छ।

 

सम्बन्धित समाचार