एमाले महाधिवेश : एक वरिष्ठ उपाध्यक्षमा पाँच नेताको दाबी, नेता व्यवस्थापनमा ओलीलाई सकस

नेकपा एमालेको महाधिवेशन आउन एक साता मात्र बाँकी छ । महाधिवेशनको मिति नजिकिएसँगै नेताहरूले आ–आफ्नो दाबी प्रस्तुत गर्न थालेका छन् । अध्यक्ष केपी ओली महाधिवेशनमा शीर्ष नेतृत्व, पदाधिकारी र स्थायी कमिटी सर्वसम्मत चुन्ने पक्षमा छन् तर कम पद र आकाङ्क्षी धेरै हुँदा ओलीलाई नेताहरूको व्यवस्थापन टाउको दुखाइको विषय बनेको छ ।

एमालेको विधान महाधिवेशनले अध्यक्षसहित १५ पदाधिकारीको परिकल्पना गरेको छ । एमालेको संस्थापन पक्ष, माधव नेपालसँग विद्रोह गरेर एमालेमै रहेको पक्ष र माओवादी केन्द्रमा नगएर एमालेमै रहेको पक्ष गरी तीन समूहका नेताहरूबाट पदाधिकारीमा दाबी गर्ने नेताहरूको संख्या नै ३० भन्दा बढी छ । अझ वरिष्ठ उपाध्यक्ष, महासचिव र सचिवजस्ता आकर्षक पदमा दाबी गर्ने नेताहरू संख्या उल्लेख्य रहेको छ ।



त्यसमा पनि माओवादीतिरका नेता र माधव समूहबाट विद्रोह गरेका नेताहरूले सम्मानजनक पद नदिए विद्रोह गर्ने चेतावनी दिँदै आएका छन् । जसले गर्दा महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गर्ने ओलीको योजना असफल हुने देखिएको छ ।

एक वरिष्ठ उपाध्यक्ष पदमा ५ नेताको दाबी
विधान महाधिवेशनले नेताहरूको व्यवस्थापनमा सहज बनाउन यस पटकदेखि एमालेमा वरिष्ठ उपाध्यक्ष पदको निर्माण गरिएको छ । सो पदमा नेताहरूको विशेष आकर्षण देखिन्छ । एमाले महासचिव ईश्वर पोखरेल दुई कार्यकाल महासचिव बनेकोले अव उक्त पदमा उठ्न विधानतः मिल्दैन, त्यसैले उनले वरिष्ठ उपाध्यक्षमा दाबी गर्नुलाई अन्यथा मान्न सकिँदैन । तर ओलीपछिको वरियतामा आफू रहेकोले वरिष्ठ उपाध्यक्ष पद आर्फैले पाउनुपर्ने सुवास नेम्वाङको दाबी पोखरेल र ओलीको लागि टाउको दुखाइको विषय बनेको छ ।

यता आफू अफ्ठ्यारोमा परेको वेला ओलीले प्रचण्ड समूहमा रमाइरहेका नेता रामबहादुर थापा बादललाई आफूपछिको वरियतामा राख्ने भन्दै आफ्नो खेमामा तानेका थिए । अब ओलीले सो बाचा पूरा गर्ने समय आएको भन्दै बादलले पनि वरिष्ठ उपाध्यक्षमा दाबी गरिरहेका छन् । त्यसमा पनि पूर्व माओवादी खेमालाई पनि सम्मानजनक स्थान दिनुपर्ने दवाव ओलीमाथि छ । यसर्थ पनि बादल वरिष्ठ उपाध्यक्ष पदका बलिया दाबेदार मानिन्छन् । पूर्वमाओवादी पक्षका तोपबहादुर रायमाझी र लेखराज भट्टले पदाधिकारीमा दाबी गर्दै आएका छन् ।

त्यसैगरी महाधिवेशनमा अध्यक्ष पदमा उम्मेद्वारी दिने भन्दै ओलीलाई धम्क्याउँदै आएका एमाले उपाध्यक्ष भीम रावल पनि सहमतिमा नेतृत्व चयन हुने अवस्था जिवितै राख्ने हो भने आफूलाई वरिष्ठ उपाध्यक्ष बनाउनुपर्ने दाबी गर्दै आएका छन् । गत महाधिवेशनबाट निर्वाचित उपाध्यक्ष हुनुको नाताले उनको दाबीलाई अस्वाभाविक मान्न सकिँदैन । त्यसमा पनि माधव नेपालसँग विद्रोह गर्ने समूहमा उनी शीर्ष स्थानमा छन् । त्यसैले पनि सो समूहको तर्फबाट वरिष्ठ उपाध्यक्षमा रावललाई नियुक्त गर्नुपर्ने दवाव ओलीमा छ ।

उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पनि आफू महिला भएको कारणले पुरुष अध्यक्ष भएपछि महिला वरिष्ठ उपाध्यक्ष हुनुपर्ने दाबी गर्दै आएकी छिन् । उनको दाबीलाई केही महिला नेृतृहरूले पनि समर्थन गर्दै आएका छन् । उद्दपि ओली भने शाक्यलाई यसपटक उपाध्यक्षमै दोहोर्याउने मनासायमा देखिन्छन् ।

वरिष्ठ उपाध्यक्ष मात्र होइन, एमालेको महासचिवदेखि सचिव पदसम्म आधा दर्जन बढीले दाबी गर्र्दै आएका छन् । पदाधिकारीमा दाबी गर्ने नेताको संख्या तीस नाघेकोले यस सन्दर्भमा ओलीलाई सहमतिमै नेतृत्व चयन गर्ने विषय फलामको चिउरा चपाएसरी भइरहेको हुनुपर्छ ।।

सम्बन्धित समाचार