एमाले महाधिवेशनमा मतदान सकिएको चार घण्टामै नतिजा आउने, यस्तो छ तयारी

नेकपा एमालेको आसन्न दशौं महाधिवेशनको नेतृत्व चयनका लागि विद्युतीय मतदानका लागि तयारी पूरा भएको छ। नयाँ नेतृत्वका लागि विद्युतीय मेसिनबाट गरिने मतदानको तयारी पूरा गरिएको एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाले जानकारी दिए। उनका अनुसार महाधिवेशनको उद्घाटन सत्र सकिएपछि यही मङ्सिर ११ गते उम्मेदवार दर्ता गरिने छ।

ुहामीले मतदान स्थल पनि हेरिसकेको छौुं, उनले भने, ‘बन्दसत्र हुने होटलका हलमा मतदान हुनेछ।’आयोगले मङ्सिर १२ गते निर्वाचन गर्ने तयारी गरेको छ। उम्मेदवार दर्ता गरिसकेपछि विद्युतीय मेसिनमा उम्मेदवारको नाम दर्ता गर्नका लागि करिव ८ देखि १० घण्टा लाग्ने जनाइएको छ।



आयोगका अध्यक्ष डा सुब्बाले विद्युतीय उपकरणमा नाम दर्ता गराएपछि अर्को दिन मङ्सिर १२ गते बिहानैदेखि मतदान हुने बताए । उनका अनुसार एक प्रतिनिधिलाई विद्युतीय उपकरणमा मतदान गर्न आधा घण्टा लाग्ने छ। विद्युतीय मेसिनमा मतदान गर्नका लागि १० देखि १२ घण्टा लाग्ने उनले बताए।

निर्वाचनका लागि ९० उपकरणको प्रयोग गर्ने छ। महाधिवेशन स्थलमा १०० उपकरण प्रयोग गरिने छ। पार्टीको केन्द्रीय कार्यालय, थापाथलीमा महाधिवेशन प्रतिनिधिलाई एमालेले विद्युतीय उपकरणबाट मतदान गर्न सिकाउनका लागि नमूना मतदानको अभ्यास गराइरहेको छ।

आयोगका अध्यक्ष डा सुब्बाले महाधिवेशन स्थलमा तीन उपकरणबाट नमूना मतदान गराइने बताए। राम–लक्ष्मण इनोभेसेनका निर्देशक लक्ष्मण रिमालले मतदान भएको चार घण्टामा नै मतपरिणाम घोषणा गर्ने जानकारी दिए। उनले महाधिवेशनमा सहभागी हुने सबै प्रतिनिधिलाई एक पटक विद्युतीय उपकरणमा नमूना मतदान गराइने बताए।

एमालेको महाधिवेशनमा २२५ केन्द्रीय सदस्य, अनुशासन र लेखा आयोगमा १५-१५ गरी कूल २५५ पदका लागि निर्वाचन हुनेछ। ती पदमा गत कात्तिक २७ गते निर्वाचित भएका एक हजार १९९ जना प्रतिनिधिले मतदान गर्ने छन्।

निर्वाचन आयोगका अध्यक्ष डा सुब्बाले उम्मेदवारका लागि शुल्कको बारेमा भने अझै निर्णय हुन बाँकी रहेको जानकारी दिए। एमाले महाधिवेशन यही मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुने भएको छ। महाधिवेशनका लागि प्रतिनिधिसमेत चयन भइसकेका छन्।

सम्बन्धित समाचार