नवकान्तिपुर संवाददाता
काठमाडौं, ४ मंसिर ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू र माओवादीलाई क्षति पुर्याउने लक्ष्यका साथ एमालेले चितवनमा महाधिवेशन गर्न लागे पनि त्यो सम्भव नभएको बताएका छन् । आज रौतहटको कटहरीमा भएको जनसभामा अध्यक्ष प्रचण्डले आफू र माओवादीलाई सिध्याउन भन्दै एमालेले सम्पूर्ण शक्ति चितवनमा केन्द्रित गरे पनि माओवादीलाई हराउन सक्ने तागत एमालेसँग नभएको दाबी गरे।
चितवनमा माओवादीलाई कमजोर बनाउने एमालेको योजनालाई त्यहाँका नागरिकले सफल हुन नदिने प्रचण्डको भनाइ छ । आउँदो चुनावमा माओवादीले २०६४ सालमा जस्तै विजयी प्राप्त गरेर पहिलो दल बन्ने सम्भावना देखेको प्रचण्डको जिकिर छ ।
देशमा संघीयता, गणतन्त्र, पछि परेका समूदाय, मधेसी लगायतलाई अधिकार दिलाउने काम माओवादीले नै गरेकाले चुनावमा त्यसको गुन तिर्न प्रचण्डले आग्रह गरे ।

