कति सकियो नागढुङ्गा सुरुङमार्ग निर्माणको काम ?

थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको एक चौथाइ काम सकिएको छ । निर्माणलाई तीव्रता दिन अहिले दैनिक आठ मिटर सुरुङ खन्ने काम भइरहेको सो सुरुङमार्ग निर्माण आयोजनाले जनाएको छ ।

आयोजना प्रमुख नरेशमान शाक्यले सुरुङमार्गको २५ प्रतिशत काम सकिएको बताउँदै पूर्वतिर (काठमाडौँ) बाट र पश्चिमतिर (धादिङ) बाट सुरुङ खन्ने काम निरन्तर रूपमा अगाडि बढिरहेको जानकारी दिए । उनका अनुसार अहिले आयोजना स्थलमा दैनिक तीन चरण (सिफ्ट) मा छ सय जनशक्ति कार्यरत छन् । त्यसैगरी अहिलेसम्म आयोजनाको भौतिक प्रगति ३३ प्रतिशत रहेको छ ।



एक हजार ८८८ मिटर सुरुङ खनिसकिएको बताउँदै उनले चालू आर्थिक वर्ष २०७८/७९ को असार मसान्तसम्म सुरुङ पूरा हुने जानकारी दिए । उनले भने, ‘आगामी वैशाखसम्म सहायक सुरुङ (इभ्याकुएसन टनेल) को र असारसम्म मुख्य सुरुङमार्ग (मेन टनेल) खन्ने काम सम्पन्न हुनेछ ।’ गएको पुसदेखि धादिङतर्फबाट सुरुङ खन्ने काम सुरु भएको थियो । त्यसैगरी काठमाडौँतिर ओभर पास निर्माण सम्पन्न गरी बलम्बुमा फ्लाइओभर निर्माणको तयारी थालिएको छ भने धादिङतिर अन्डर पास निर्माण पूरा भएको आयोजना प्रमुख शाक्यले बताए ।

उनका अनुसार काठमाडौँतर्फ मुख्य सुरुङ ३०६ मिटर र सहायक सुरुङ ६७६ मिटर खन्ने काम सकिएको छ भने धादिङतर्फ मुख्य सुरुङ २९३ मिटर र सहायक सुरुङ ४४५ मिटर खन्ने काम सकिएको हो । त्यसैगरी दुवैतिर गरी १२६ मिटर अडिट टनेल पूरा भएको छ भने ३९ मिटर क्रस प्यासेज निर्माण भएको उनले जानकारी दिए । मुख्य सुरुङ दुई हजार ६८८ मिटर र सहायक टनेल दुई हजार ५५७ मिटर खन्नुपर्ने छ । त्यसैगरी १२६ मिटर अडिट टनेल र १२८ मिटर क्रस प्यासेज निर्माण गर्नुपर्ने रहेको आयोजनाले जनाएको छ ।

सुरुङमार्गभित्र सिर्जना हुन सक्ने आपत्कालीन अवस्थामा प्रयोगका लागि मुख्य सुरुङमार्गको समानान्तर हुनेगरी सहायक सुरुङमार्ग निर्माण भइरहेको छ । मुख्य र सहायक सुरुङमार्गलाई प्रत्येक ३७५ मिटरमा सहायक बाटो (क्रस प्यासेज) ले जोडिनेछ । सवारीसाधन आवतजावत गर्न सक्ने मुलुककै पहिलो आधुनिक यस सडक सुरुङमार्गको कुल लम्बाइ २.७ किलोमिटरको हुनेछ । यस सुरुङमार्गको काठमाडौँतर्फको प्रारम्भ विन्दु (पोर्टल) चन्द्रागिरि नगरपालिका–१ स्थित टुटीपाखामा रहनेछ भने धादिङतिरको शुभारम्भविन्दु (पोर्टल) धुनीबेँसी नगरपालिकाको सिस्नेखोलामा रहने उनले बताए ।

कुल लम्बाइ २.७ किलोमिटर र चौडाइ (क्यारिज–वे) साढे नौ मिटरको हुने यस सुरुङमार्गको बीचमा डेढ मिटर चौडाइको ‘मेडियन’ र आधा आधा मिटरको दुईवटा ‘सोल्डर’ निर्माण गरिनेछ । सुरुङमार्गको निर्माणमा अहिलेसम्मकै उच्चतम प्रविधि प्रयोग गरिने आयोजनाले जनाएको छ । आयोजनाका अनुसार कामदारसँगै ‘मेसिन बेस’ भएर यो सुरुङमार्ग निर्माण भइरहेको छ ।

सुरुङमार्ग निर्माणका लागि जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले सन् २०१५ मा प्रारम्भिक अध्ययन गरेको थियो । यसको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) सन् २०१८ मा तयार पारिएको हो । यसैगरी सन् २०१६ मा जाइकासँग १६ अर्ब ६३ करोड रुपियाँको ऋण सम्झौता भएको थियो । शून्य दशमलव ०१ प्रतिशत ब्याजदरमा ४० वर्षभित्र फिर्ता गर्ने गरी सो ऋण सम्झौता भएको हो । आजको गोरखापत्र दैनिकमा खबर छ ।

सम्बन्धित समाचार